खेलकुद

मेस्सी र रोनाल्डोको क्लब आज आपसमा भिड्दै

Banner

काठमाडौँ,माघ १८-

समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । विश्भर यी दुबै फुटबल स्टारका कराडौँ समर्थक छन् । अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज स्ट्राइकर रोनाल्डोको टोली लामो समयदेखि एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छैनन् । तर, समकालीन विश्व फुटबलका यी दुई महान खेलाडी आबद्ध क्लबबिच बिहीबार राति आपसमा भिडन्त हुँदैछ । मेस्सीको क्लब इन्टर मियामी र रोनाल्डोको क्लब अल नासरबिच बिहीबार राति साउदी अरेबियामा आपसमा भिडन्त हुन लागेको हो । खेल राति ११ः४५ बजे सुरु हुनेछ ।

पहिले यी दुबै महान खेलाडी स्पेनिस क्लबबाट ब्यवसायीक फुटबल खेल्थे । ३८ वर्षीय रोनाल्डो रियल म्याड्रिडबाट र ३६ वर्षीय मेस्सी बार्सिलोनाबाट ब्यवसायीक फुटबल खेल्थे । त्यतिबेला भने यी दुई महान खेलाडी समय–समयमा एक–अर्काविरुद्ध मैदानमा ओर्लन्थे । तर, लामो समयदेखि यी दुई प्रभावशाली फुटबलर मैदानमा एक–अर्काविरुद्ध ओर्लिएका छैनन् । मेस्सी बार्सिलोनाबाट फ्रान्सेली क्लब हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् । उनी सन् २०२३ मा अमेरिकी ब्यवसायीक लिग खेल्न इन्टर मियामी पुगेका हुन् ।

अर्कोतिर, रोनाल्डो पनि रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्ट्स र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड हुँदै हाल साउदी अरेबियन क्लब अल नासरमा आबद्ध भएका छन् । उनी साउदी अरेबियाको ब्यवसायीक लिग खेल्न सन् २०२३ मा अल नासरमा आबद्ध भएका हुन् । बिहीबार राति हुने इन्टर मियामी र अल नासरबिचको खेलमा रोनाल्डोले खेल्ने सम्भावना भने निकै कम छ । उनी पछिल्लो केही समययता पिँडुलाको समस्याबाट पीडित छन् । त्यसैले उनी केही समयदेखि मैदानमा देखा परेका छैनन् ।

इन्टर मियामीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पनि हो । मेस्सी साउदी पर्यटनका सदभावना राजदूत पनि हुन् । मेस्सी र रोनाल्डो हालसम्म ३५ पटक एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छन् । यी दुई खेलाडी क्लब र राष्ट्रिय टोलीबाट खेल्दा एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका हुन् । त्यसमध्ये १६ खेलमा मेस्सीको टोली र १० खेलमा रोनाल्डोको टोली विजयी भएका छन् ।

बाँकी नौ खेल भने बराबरीमा सकिएको छ । ती ३५ खेलमा मेस्सीले २१ गोल गरेका छन् भने १२ वटा गोलका लागि पास उपलब्ध गराएका छन् । रोनाल्डोले भने २० गोल गरेका छन् भने एक गोलका लागि पास उपलब्ध गराएका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>