चितवन विशेष
नारायणगणको बालकुमारी माविले विभिन्न कार्यक्रम गरी मनायो ५८ औं वार्षिकोत्सव

चितवन, माघ १३-
नारायणगढमा रहेको बालकुमारी माध्यमिक विद्यालयले विभिन्न रचनात्मक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।
विद्यालयले माघ ७ देखि १२ गतेसम्म आफ्नो ५८ औं वार्षिकोत्सव मनाएको हो ।
शुक्रबार सम्पन्न कार्यक्रममा विद्यालयले खेलकुद, साहित्य, सिर्जनाका विजेता विद्यार्थीलगायत उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको थियो । समापन कार्यक्रममा भरतपुर वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट, भरतपुर शैक्षिक महाशाखाका ऋषिराम पौडेल, लेखक तथा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलालगायतको सहभागिता थियो ।
सो अवसरमा अध्यक्ष रानाभाटले बालकुमारी विद्यालयले शिक्षाको गुणस्तर बृद्धि गरेर साख फर्काउनुपर्नेमा जोड दिए । विद्यालयको शैक्षिक, पूर्वाधार विकास वडाले सहयोग गर्ने बताउंँदै विद्यार्थीको संख्या बृद्धि गर्नुपर्ने बताए । साहित्यका संग्रौलाले विद्यालयमा आफूले अध्यापन गराएको स्मरण गर्दै उनले शिक्षाको उनन्नयनमा बालकुमारीको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुुत गरेका थिए । सुरेन्द्रप्रसाद पौडलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराईले गरेका थिए । अध्यक्ष भट्टराईले विद्यालयको शैक्षिक , भौतिक पूर्वाधारमा विस्तारै सुधार भएको भन्दै सबैको साथ र सहयोगले मात्र विद्यालयले इतिहास फर्काउने विचार व्यक्त गरे । कार्यक्रममा बालकुमारी कलेजका प्रिन्सिपल जगदिश्वर खनाल, अभिभावक संघका अध्यक्ष रिमेश श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । अहिले विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्म ६५० जना विद्यार्थी अध्ययनरत छन् । ९ विघा ४ कठ्ठा ११ धुर क्षेत्रफल रहेको यस विद्यालयमा ४६ वटा कोठा, प्रयोगशाला कक्ष, कार्याशाला कक्ष, पुस्तकालय चमेना गृहलगायतका संरचना छन् ।
























