चितवन विशेष
भरतपुरमा सडक पूर्वाधार नै विकासको आधार हो: मेयर दाहाल

चितवन, पुस २१-
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विकासको पहिलो आधार सडक भएकाले सडकलाई प्राथामिकता दिएको बताएकी छन् ।
आज नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै मेयर दाहालले सडक पूर्वाधार निर्माण भएपछि मात्रै जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेकी हुन् ।
मेयर दाहालले भरतपुरको विकास यतिकै नभएको बताउँदै उनले जनप्रतिनिधिको सक्रिय पहल र आमजनताको इच्छा चाहनाले मात्र भरतपुरको विकास सम्भव भएको प्रष्ट पारिन् । ‘बजेट सजिलै आउँदैन’, उनले भनिन्,‘एक पटक गएर हुदैन। पटक पटकको पहल, सक्रियताले बजेट आउँछ । हिजोको दिनमा १० लाखको बजेट ल्याउन गाँउबाट डेलिगेशन जानुपर्ने अवस्था थियो । ’
मेयर दाहालले नेपाल रेडक्रस सोसाइटी गीतानगर उपशाखाले मानविय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गरिन् । उनले गीतानगर उपशाखाको भवन निर्माणका लागि जग्गादाता जयलाल पौडेलले पु¥याएको योगदान र भवन निर्माण गर्ने स्थानीय दानवीरलाई धन्यवाद दिइन् । भरतपुर महानगरपालिका, स्थानीय चन्दाताको सहयोगमा १४ लाख ८३ हजार रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।
मेयर दाहालले भरतपुरको भगिनी सम्बन्ध स्थापना भएको जापानको यकोसुका सहरबाट ५\६ वटा एम्बुलेन्स सहयोग आउन लागेको र एक थान गीतानगर उपशाखालाई प्रदान गरिने बताइन् । रेडक्रसको जिल्ला भवन निर्माण गर्न महानगरबाट सहयोग भएको र गैर अवासीय नेपाली सघ एनआरएनएबाट सहयोग भएको रक्त सञ्चार एम्बुलेन्स पनि हस्तान्तरण गरिएको बताइन् ।
कार्यक्रममा रेडक्रसको भवन निर्माण गर्न सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारी, वडा अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राजेन्द्र साँखीलगायतको उपस्थिति रहेको थियो।
























