विचार/ब्लग

जङ्गल यात्रा अनुभूती

Banner

–बद्री अर्याल

चितवन (मेघाैली)

ढड्डिघारी छिचोलेपछि आउने नन्द भाउजु ताल । त्यसैको दाहिनेतर्फ किनारै किनारको सालघारी कटेपछि पुगिने चुरेपहाडको फेदिमा उठेको सानो ढिस्को वरिपरि काठको घेरबार अनि बिचमा काठै–काठको फलिकाले बनेको सानो घर । दायाँगेटको तगारो छेवैमा श्री खड्गदल गण सुरक्षा पोष्ट साईलि माईलि लेखेको साईन बोर्ड । एउटा सानो सैनिक ब्यारेक छेउमा पुग्दा घडिमा बिहानको ११ः४५बजेको थियो।

मेघौलीदेखि गोलाघाटसम्म राप्ती नदीमा बोटिङ । त्यसपछि जंगल वाकिङको लागि अनुमति लियर नेचर गाइडका केहि साथीहरु समेत दिनभरिका निम्ति जंगल घुम्न निस्केका हामी त्यहा पुग्दा अलिक सुरक्षित महशुस गर्दै थियौँ । फुर्सद भयो कि फोन खेलाउने आदत भएका हामी मोबाइल झिकि फोन गर्न खोज्दा थाहा पायौं कुनैपनि नेटवर्क नटिप्ने ठाउँ रहेछ।

पानी खाई केहि समय थकाइ मार्ने बाहनाले टक्क अडिएका ड्युटीमा रहेका सैनिकसंग् गफिने मेरो मनसाय थियो। डडेलधुरा स्याउले घर बताउने हवल्दारसापबाट चितवन राष्ट्रिय निकुञ्ज सुरक्षाका दौरान नरभक्षि बाघ, भालु, गैंडा, हात्ती लगायतका जनावरसंग जम्काभेट हुँदाका क्षणहरुमा बल्लतल्ल बचेको बयान सुन्दा जंगल घुम्न कस्सिएर निस्केका हाम्रै केहि साथी त्रशित बनेका थिए । सुखिभार पोष्टमा रहदा धुर्बे हात्तीको आक्रमणबाट मुस्किलले बाँचेको अनि धुर्ब पोष्टमा रहँदा आफ्नै टोलि कमान्डरलाई धुर्बे हात्तीले झुक्याएर आक्रमण गरि मार्दाको त्यो बिभत्स दृश्यको वर्णन सुन्दा आङ नै सिरिङ्ग बनायो।

सेनाको बर्दि पहिरिएपछि साथी मर्‍यो भन्दैमा जिम्मेवारी छाडेर हिँड्न मिल्दैन सर १ के गर्नु यहि पोष्टकै नजिकै एउटा साथीलाई गैडाले हानेर मार्‍यो । जतिसुकै सावधानी अपनाए पनि हिंस्रक जनावरबाट बच्न मुस्किल पर्छ। हिउँदको ठण्डि, वर्षातको भेल, चैत्र÷बैशाखको उखर्माउलो गर्मी । के दिन के रात । हप्तामा सातै दिन, बाह्रै महिना, बाह्रै काल दौडनुपर्छ । विषम परिस्थितिहरुमा समेत अविचलित रहि अविछिन्न रुपमा निकुञ्ज सुरक्षामा खटिएका हवल्दारसापको दृढ आत्मबिश्वास देख्दा मन गर्विलो बन्यो। निकुञ्ज सुरक्षाको जिम्मेवारीलाई सामान्य सम्झने मेरो अहिले सम्मको बुझाईलाई त्यो छोटो वार्तालापले पुर्णबिराम लगाई सकेको थियो।

टेम्पल टाईगर हुँदै सेरि पुगेर फर्कने भनेर हिँडेका हामीले फायरलाइनको बाटोमा ठूलो झोला बोकेर हिँडिरहेका अधिकृत सहितको अर्को गस्ती टोलीलाई समेत भेट्यौँ । दक्षिणी सिमा स्तम्भ अनुगमन तथा चुरे पहाड ईलाकामा हप्ता दिन भन्दाबढी बिशेष स्विप अपरेसनबाट फर्किदै गरेको त्यो टोलिले बिहानको खाना खाने तयारी गरिरहँदा दिनको साढे १ बजेको थियो । गस्तीमा निस्कने हाम्रा प्रत्येक टोलिहरु हरेक बखत ट्रयाकिङ सिस्टमबाट मोनिटर भईरहेका हुन्छन् । यस चितवन राष्ट्रिय निकुञ्ज सुरक्षा टोलिले मात्रै पनि हरेक दिन लामो दुरि पार गरेको सिस्टमले देखाउने टोलि कमान्डर सैनिक अधिकारीले बताए । चितवन राष्ट्रिय निकुञ्ज भित्र गस्तीमा हिड्ने सैनिकहरुले पार गर्ने प्रत्येक दिनको दुरी त पूर्वको मेचीदेखि पश्चिम महाकाली पुगेर पुनः मेची फर्किए जतिको दुरी पो हुँदो रहेछ। त्यो कुरा सुन्दा अचम्म लाग्यो ।

सेरि नपुग्दै नारायणी तिरैतिर डुङ्गाबाट गस्ति गर्दै फर्किदै गरेका अर्को सैनिक गस्ति टोलिसंग भेट भयो। बाघमारा छेउछाउमा आईपुग्दा खोरिया मुहानदेखि हात्तीबाट स्विपको कार्वाही गर्दै गरेको अर्को गस्ति टोलि समेत भेटियो ।

विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका दुई ओटा राष्ट्रिय निकुञ्जहरुमा चितवन राष्ट्रिय निकुञ्ज बिश्वमै दुर्लभ एकसिंगे गैडाका निम्ति प्रख्यात छ। यहि निकुञ्जको सेरोफेरोमा सयौं जंगल लज लगायत हजारौं होमस्टेहरु संचालनमा रहेका छन् । वातावरण सन्तुलनमा पुर्याउने योगदानका अलवा पर्यटकहरुले जिप तथा पैदल सफारि गरे बापत राज्यले करोडौं रकम राजस्व संकलन गर्दै आएको छ। साँच्चिकै भन्नु पर्दा चितवनको पहिचान भन्नु नै यहि चितवन राष्ट्रिय निकुञ्ज बनेको छ।

निकुञ्जको सामुन्ने रहेको जङ्गल छेउको मचानमा बसेर साथीहरुले राप्ती नदीलाई नियाल्दै साँझलाई रंगिन बनाई रहादा आफुलाई भने तिनै बर्दिधारि सैनिकहरुकै सम्झनाले पछ्याई रह्यो । जो दशकौँ देखि यसैगरी कुदिरहेका छन् । प्रकृति संरक्षणमा नेपाली सेनाले पुर्याएको योगदानका बारेको वर्णन र त्यसको प्रशंसा मेरो लेखनीको क्षमताभित्र पर्दैन, त्यो अतुलनीय छ। निकुञ्ज सुरक्षा ड्युटीमा खटिएका बखत विभिन्न समयमा जीवन उत्सर्ग गर्ने ति विर आत्माहरुको स्मृतिले मन भारि बनायो। ति सबै–सबैलाई सलाम, जसको रगत र पसिनाले नै हामीले यो सम्पदालाई हाम्रो चितवनको हो भन्न पाएका छौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>