खेलकुद
सातौं दक्षिण एसियाली कराँतेमा पदक जित्ने चितवनका खेलाडी र प्रशिक्षक सम्मानित

चितवन, मंसिर ३०-
काठमाडौंमा सम्पन्न सातौं दक्षिण एसियाली कराँतेका पदक विजेता चितवनका दुई खेलाडी र प्रशिक्षक सम्मानित भएका छन् ।
नेपाल सितोरियो कराते संघ भरतपुर महानगर समितिले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल पार्वती गुरुङ र रजत पदक विजेता निक्षा थापा मगरलाई नगदसहित सम्मान गरेको हो । यस्तै प्रशिक्षक दुर्गा कुमाललाई पनि संघले नगदसहित सम्मान गरेको छ ।
संघले आज (शनिबार) एक कार्यक्रमकाबीच पदक विजेता पार्वती र निक्षालाई जनही दश–दश हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो । यस्तै प्रशिक्षक कुमाललाई पाँच हजार रुपैयाँसहित सम्मान गरिएको संघका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।
पार्वतीले २१ वर्ष मुनि ४५ केजी तौल समूहमा नेपालका लागि स्वर्ण पदक जित्न सफल भएकी थिइन् । यस्तै निक्षाले २१ वर्ष मुनी ४० केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । राष्ट्रका लागि पदक जितेका खेलाडीहरुलाई हसौला प्रदान गर्नका लागि सम्मान गरिएको संघका अध्यक्ष कार्कीको भनाइ छ ।
सितोरियो कराँते संघ बागमती प्रदेश अध्यक्ष गगन लामा प्रमुख आतिथि रहेको कार्यक्रममा भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशव महर्जन, ट्राफिक प्रहरी कार्यलय बागमती प्रदेशका उप–प्रमुख श्रीराम भण्डारी, नेपाल सितोरियो कराते संघ चितवनका अध्यक्ष चित्रबहादुर राना, संघ जिल्ला कार्यसमिति र भरतपुर महानगर समितिका पदाधिकारीहरु उपस्थित थिए ।

























