समाचार

साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयामः मन्त्री शर्मा

०
Banner

काठमाडौँ, २४ मङ्सिर-

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।

यहाँस्थित इस्लिङ्टन कलेजले साइबर सुरक्षा र डिजिटल फोरेन्सिकसम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले स्थापना गरेको साइबर सुरक्षा अनुसन्धान हब उद्घाटन गर्दै मन्त्री शर्माले साइबर सुरक्षा सरकारको राष्ट्रिय प्राथमिकतामा रहेको बताउनुभयो । रु साढे दुई करोड लगानीमा स्थापना गरिएको यो साइबर सुरक्षा अनुसन्धान हब नेपालकै पहिलो शैक्षिक अनुसन्धान केन्द्र भएको कलेजको दाबी छ ।

“सूचना तथा प्रविधिको विकास र प्रयोगसँगै साइबर सुरक्षा निकै महत्वपूर्ण बन्दै गएको छ । यससँग सम्बन्धित क्षेत्रको सुरक्षा अहिले विश्वभर ठूलो चुनौतीको विषय बन्दै गएको छ”, मन्त्री शर्माले भन्नुभयो, “व्यक्तिगत तथ्याङक सुरक्षादेखि मुलुकको सार्वभौम अक्षुण्ण राख्नेसम्मको काम महत्वपूर्ण बन्दै गएका छन् ।”

सूचना प्रविधि आफैँमा उदाउँदो क्षेत्र भएको र त्यसमा अझ साइबर सुरक्षा महत्वपूर्ण भएको उहाँको भनाइ छ । मन्त्री शर्माल भन्नुभयो, “तपाईंहरुलाई थाहा नै छ, हामीले नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेका छौँ । सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा हुनसक्ने आक्रमणबाट सुरक्षित रहन साइबर सुरक्षा नीति जारी गरिएको हो ।”

राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० ले नौवटा रणनीति अघि सारेको मन्त्री शर्माले उल्लेख गर्नुभयो । सोही अनुसार आफूहरु साइबर सुरक्षासम्बन्धी कानुनी र संरचनागत व्यवस्थामा जुटेको उहाँको भनाइ छ । मन्त्रालयमा साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा निर्माण भइरहेको जानकारी दिँदै उहाँले साइबर सुरक्षाका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको प्रक्रिया पनि अघि बढाइएको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>