समाचार
देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्छः प्रभु साह

काठमाडौँ, मंसिर २३-
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले देश बनाउन भ्रष्टाचारीलाई जनकारबाही गरिनुपर्ने धारणा राखेका छन् । उनले आज देशमा भ्रष्टाचार एक प्रमुख समस्या भएको उल्लेख गर्दै भ्रष्टाचारीहरुलाई जनकारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।
‘भ्रष्टाचारीहर गर्जिएर हिँडेका छन् । बलिया भएका छन् । जनता लाचार छन् । यो अवस्था रह्यो भने देशको विकास सम्भव छैन’, उनले भने, ‘भ्रष्टाचारीहरु दण्डित हुनुपथ्र्यो । तर आज भ्रष्टाचारीहरु खुलेआम घुमिरहेका छन् ।’
राज्यले भ्रष्टाचारीहरुलाई कारबाही गर्छ भनेर अब जनता भ्रममा बस्न नहुने उनको धारणा छ । ‘राज्य आफैँ भ्रष्टाचारमा डुबेको छ । तपाईँ हामीलाई लाग्छ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको छानबिन गर्छ र भ्रष्टाचारीलाई जेल हाल्छ, यो भ्रममात्रै हो । किनभने अख्तियारको क्षमताले भ्याउँदैन’, उनले भने, ‘त्यसैले भ्रष्टाचार नियन्त्रण गर्न आम जनता अगाडि आउनुपर्छ ।’
जबसम्म समाज भ्रष्टाचारीप्रति निर्मम बन्न सक्दैन तबसम्म भ्रष्टाचार निमूल सम्भव नहुने उनको धारणा छ ।























