समाचार

कविडाँडा आख्यान पुरस्कार २०७९ सुवेदीलाई

०
Banner

चितवन, मंसिर २३-

कविडाँडा साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको कविडाँडा उत्कृष्ट आख्यान पुरस्कार २०७९ आख्यानकार डा देवीप्रसाद सुवेदीलाई प्रदान गरिएको छ । उहाँको ऋग्वैदकालीन उपन्यास ‘मनु’लाई यो पुरस्कार प्रदान गरिएको हो ।

लाल–मीना फाउण्डेसनका अध्यक्ष मीना लामिछाने र कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले सम्मानपत्रसहित सुवेदीलाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशि रु एक लाख २५ हजार रहेको छ ।

समाजले उक्त पुरस्कारका लागि गत भदौ २३ गते १० वटा उत्कृष्ट आख्यान कृतिको सूची सार्वजनिक गरेको थियो । त्यसपछि दोस्रो चरणमा उत्कृष्ट पाँचवटा कृतिको सूची सार्वजनिक गरियो । सूचीमा सुवेदीको मनु उपन्याससहित जानुका खतिवडाको आतोओडा, विवेक ओझाको ऐँठन, रामलाल जोशीको बाआमा, अशोक थापाको सन्तापको धुन, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवरा, सञ्जय विष्टको माटाको घर, हरिबोल काफ्लेको यशोधरा र रेणुका जिसीको सनेस रहेका थिए ।

बुकहिल पब्लिकेशन्सबाट प्रकाशित सुवेदीको मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक, पौराणिक विषयवस्तुमा आधारित उपन्यास हो । समाजले विसं २०७५ बाट पुरस्कार प्रदान गर्न थालेको हो ।

मनु उपन्यासले खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री पुरस्कार– २०७९ पनि प्राप्त गरेको छ । विसं २०६० मा कविडाँडा साहित्य समाजको स्थापना भएको हो । पुरस्कार वितरण समारोहमा साहित्यकार डा केशवराज चालिसे र डा महेश पौडेल कृति एवं पुरस्कारको विषयमा बोल्नुभएको थियो । सो अवसरमा गायत्री श्रेष्ठ, श्रीओम श्रेष्ठ, राजेन्द्र केशी, उदय अधिकारी, सुरेन्द्र अत्सफललगायतले बोल्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>