देश/प्रदेश

मादी नदीमा तटबन्धन निर्माण गरिँदै

Banner

तनहुँ, मंसिर २२-

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत दुई चरणमा तटबन्धन निर्माण भइरहेको छ । व्यास नगरपालिका–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म करिब १६ किलोमिटर दूरीमा तटबन्धन निर्माण भइरहेको हो ।

गत वर्ष मादी नदीमा आएको बाढीले मानव बस्ती आसपासका क्षेत्र कटान गरी उच्च जोखिम बनाएपछि संरक्षणका लागि तटबन्धन निर्माण थालिएको जिल्लस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

पहिलो चरणअन्तर्गत सिसाघाटदेखि चिन्तुटारसम्म र दोस्रो चरणअन्तर्गत गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्धनका काम भइरहेको कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै चरणको गरी हालसम्म ४८ प्रतिशत कार्य प्रगति भएको छ ।

सङ्घ विशेष अनुदान कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशको आर्थिक सहयोगमा निर्माण भएको मादी नदी किनारमा तटबन्धनका काम भइरहेको श्रेष्ठले बताउनुभयो । उक्त योजनाको हालसम्म वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ । उहाँका अनुसार विसं २०८१ भदौ ५ गतेभित्र योजना सम्पन्न गर्ने गरी सम्झौता गरी निर्माण अघि बढाइएको हो ।

“नदी कटानले जोखिममा परेका बस्तीलाई प्राथमिकता दिएर काम गरिएको छ”, श्रेष्ठले भन्नुभयो, “तटबन्धन निर्माणपछि स्थानीयवासीले राहतको महसुस गर्नसक्ने छन् ।” अति जोखिम क्षेत्र व्यास नगरपालिकाको वडा नं ३,४,५,६ र १० मा पर्ने मादी नदी नियन्त्रणका लागि निर्माण तीव्र गतिमा भइरहेको कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार चरण–१ का लागि रू आठ करोड ६३ लाख र चरण–२ का लागि रू नौ करोड ३५ लाखमा ठेक्का सम्झौता भएको हो ।

गत वर्ष नदीमा आएको बाढीले कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि किनारमा ग्याबिन वालसहितको बाँध निर्माण गरिएको थियो । समुद्री सतहबाट करिब चार मिटर उचाइको ग्याबिन वाल निर्माणपछि नदी कटान नियन्त्रणमा आई सदरमुकाम संरक्षणमा सहयोग पुगेको पाटन टोल विकास संस्थाका निवर्तमान अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीले बस्ती जोखिममा परेपछि रातभर जाग्रम बसेको स्मरण गर्दै उहाँले भन्नुभयो, “तटबन्धन निर्माण भएपछि स्थानीय बासिन्दा ढुक्क भएका छौँ ।” उहाँका अनुसार नदी कटानले व्यास–६ पाटन क्षेत्रका मात्रै छ सयभन्दा बढी घरधुरी जोखिममा रहेका थिए ।

“समयमै तटबन्धन नगरिएको भए धैरै क्षति भोग्नुपर्ने अवस्था थियो”, श्रेष्ठले भन्नुभयो, “व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको पहलमा गण्डकी प्रदेशले बजेट विनियोजन गरिदिएपछि नदी किनारमा तटबन्धन निर्माणसँगै राहतको महसुस गरेका छौँ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area