देश/प्रदेश

मेयर शाहले सामाजिक सञ्जालमा लेखेः महानगरभित्र कानुनअनुसार औषधि पसल सञ्चालन गर्नु

Banner

काठमाडौँ, मंसिर २०-

स्थानीयबाट जनगुनासो आउन थालेपछि काठमाडौँ, महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गरेको छ । महानगरले मङ्सिर २९ गतेभित्र नियमानुसार औषधि पसल दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको हो ।

महानगरका मेयर बालेन्द्र शाहले आज बुधवार सामाजिक सञ्जालमार्फत नियमानुसार दर्ता गर्न तथा डाक्टरको सिफारिस (प्रेस्किप्सन) अनुसार मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका हुन् ।

उनले लेखेका छन् कतिपय औषधि पसल दर्ता नभएका, अनधिकृत व्यक्तिबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री गरेको र डाक्टरको सिफारिस (प्रेस्किप्सन) विना औषधि बिक्री भइरहेको लगायतका गुनासा आइरहेका उल्लेख गर्नुभएको छ । महानगर आमनागरिकको स्वास्थ्यका लागि संवेदनशील रहेको भन्दै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक काम गर्दै आएको बताउनुभएको छ । सुधारका प्रयास भइरहे पनि जनस्वास्थ्यमा लापर्बाही भएको भेटिएको मेयर शाहको भनाइ छ ।

मेयर शाहको स्टाटस जस्ताको त्यस्तैM

हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौ । यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाइहरूलाई थाहा नै छ । तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ ।
काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ ।
यसका साथै नार्कोटिक औषधीहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, Good Pharmacy Practice (GPP) अनुसार औषधी पसल व्यवस्थापन नगरिएको, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको छ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार भएको पाइएको छ यसमा हामी गम्भीर छौ । त्यसैले हामीले यही महिनाको २९ गते भित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौ ।
अतः माथि उल्लेख भए अनुसारको समय भित्र काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधी पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौं महानगरपालिका जन–स्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधी पसल बन्द गर्ने सम्मको कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारी गराउन चाहन्छौ ।
यदि यस्तो भए गरेको पाइएमा काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क मार्फत महानगरपालिकालाई जानकारी दिन समेत अनुरोध गर्न चाहन्छौ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>