Breaking News

चितवनका दुई व्यवसायीको नेपालकै ठूलो दाना उद्योगमा पाँच अर्ब लगानी, घण्टामा ३० टन उत्पादन हुने

Banner

मधुसूदन दवाडी

चितवन, मंसिर १९-

चितवनका दुई उद्योगीले पशुपंक्षीको नयाँ दाना उद्योगमा पाँच अर्ब रुपैयाँ लगानी गरेका छन् ।

चितवनका दुई उद्योगी गुणचन्द्र विष्ट र टीका पोखरेलको लगानीमा मुलुकमै पहिलो पशुपक्षीको एकीकृत दाना उद्योग गौरीशंकर एग्रो इन्डस्ट्रिजका नाममा सुनसरीको लौकहीमा स्थापना भएको हो । यो उद्योग माघ महिनाभित्र सञ्चालनमा आउने जनाइएको छ । पोखरेल र विष्ट दुवै चितवनका पुराना साझेदार लगानीकर्ताहरु हुन् ।

चितवनमा रहेको स्काईलार्क कम्पनीको सेयर बेचेर नयाँ उद्योगमा लगानी गरेको उद्योगी गुणचन्द्र विष्टले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ टीका जी र म यस क्षेत्रमा पुरानो साझेदार हौं । माछाको दाना भारतको बिहारमा पनि बेच्ने गरेर यो उद्योगमा लगानी गरेका छौं । यो अन्य उद्योगबाट उत्पादन हु्ने नियमित दाना भन्दा फरक खालको दाना उत्पादन गर्ने कम्पनी हो । ’ विष्ट पोल्ट्री र दाना उद्योगको किङको रुपमा चिनिएका व्यवसायी हुन् ।

सुनसरीमा सञ्चालनमा आउने नयाँ उद्योग लगानी‚ मेसिनरी‚ भौतिक संरचना र उत्पादनका दृष्टिले मुलुककै पहिलो ठूलो दाना उद्योग हुने भएको छ । जसमा कुखुरा, गाईभैंसी, माछाको दाना उत्पादन हुनेछ । यही उद्योगले कुकुरका लागि आवश्यक आहारा पनि बनाउने योजना छ । विष्टले नयाँ उद्योगले दुई महिनापछि दाना उत्पादन सुरु गर्ने जानकारी दिए ।

२०७९ असारबाट निर्माण सुरु गरिएको उद्योग कोशी ब्यारेजबाट १६ किलोमिटरको दूरीमा रहेको छ । उद्योगमा जडान भइरहेका मेसिनरीहरु जर्मनीको एनड्रिज कम्पनीको भएको उद्योगी विष्टले जानकारी दिए । उनले अत्याधुनिक मेसिनरी उत्पादन गर्ने भएकाले एनड्रिज रोजिएको बताए । नयाँ उद्योगले माछा, पोल्ट्री र गाईवस्तुको दाना बनाउने मेसिनरी जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ । उद्योगले एक घण्टामा ३० टन दाना उत्पादन गर्ने छ । उद्योगबाट फुल फ्याट सोयासमेत उत्पादन गर्ने तयारी छ ।

चितवनका विष्टको अविनाश समूह नेपालको पोल्ट्री उद्यममा अग्रणी हो । यो समूह अन्तर्गत नेपाल ग्यास, अविनाश ह्याचरी, अविनाश पोल्ट्री र दाना उद्योग छ । भारतको स्काईलार्क समूहको संयुक्त लगानीमा यो समूहले चितवनको ब्रम्हपुरमा कुखुराको दाना उद्योग सञ्चालनमा ल्याइसकेको छ । नेपालमा उच्च ग्रेड तथा क्वालिटीको दाना उद्योगको सपना पूरा गर्न विष्टले यो उद्योगमा लगानी गरेका हुन् । सञ्चालनमा आएपछि उद्योगले ३ मेगावाट बिजुली खपत गर्नेछ । भविष्यमा उद्योगमै सौर्य ऊर्जाको वैकल्पिक पूर्वाधार निर्माण गर्ने विष्टको योजना छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>