क्रिकेट
अष्ट्रेलियालाई हराउँदै भारतले एक खेल अगावै जित्यो उपाधि

काठमाडौं, मंसिर १६-
अष्ट्रेलियाविरुद्धको टी–ट्वेन्टी आई सिरिज घरेलु टोली भारतले एक खेल अगावै जितेको छ।
भारतले चौथो टी–ट्वेन्टी आईमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै उपाधि जितेको हो। पाँच खेलको सिरिजमा भारत ३–१ ले विजयी भयो।
गएराति जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। अष्ट्रेलियाका कप्तान म्याथ्यु वेड सर्वाधिक ३६ रनमा नट आउट रहे।
ओपनर ट्रविस हेडले ३१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। हेड बाहेक अन्य कुनैपनि ब्याटरले आक्रामक ब्याटिङ गर्न सकेनन्। म्याथ्यस सर्ट १८ रनमा आउट भए।
भारतका स्पिनर अक्षर पटेलले ३ विकेट लिए भने दीपक चाहरले २ विकेट तथा रवि विश्रोई र आवेश खानले १–१ विकेट लिए।
त्यसअघि छत्तिसगढको रायपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो।

























