राजनीति

‘बहुलवादी लोकतान्त्रिक’ पार्टी भएको रास्वपाको घोषणा, चितवनमा ‘निलो क्रान्ति’

Banner

काठमाडौँ, मंसिर १४–

राजनीतिक–वैचारिक अस्पष्टताको आरोप खेपिरहेको संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनीतिक कित्ता स्पष्ट पारेको छ । पार्टी स्थापना भएको १५ महिनापछि उसले आफूलाई ‘बहुलवादी लोकतान्त्रिक’ पार्टी बताएको हो । आसन्न निर्वाचनको तयारीस्वरूप मिसन–०८४ सुरु गरिसकेको रास्वपाले यसको मार्चचित्र पनि तयार गरेको छ ।

बुधबार महोत्तरीमा सम्पन्न तीनदिने केन्द्रीय र संसदीय दलको संयुक्त बैठकले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने र उदार अर्थतन्त्रको नीति लिने राजनीतिक प्रस्ताव पारित गरेको छ । पूर्ण राजनीतिक दस्ताबेज केही समयमा सार्वजनिक गर्ने बैठकको निर्णय छ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति उसको प्रतिबद्धता छ ।

‘हाम्रो पार्टीको नीतिगत र वैचारिक अस्पष्टतालाई लिएर बारम्बार आरोप लगाइन्थ्यो, प्रश्न उठाइन्थ्यो,’ रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने, ‘त्यो वैचारिक अस्पष्टता मधेशमा सम्पन्न बैठकबाट चिरेका छौँ । मूल विषय प्रस्ट गरेका छौँ, पूर्ण राजनीतिक दस्ताबेज बिस्तारै सार्वजनिक गर्नेछौँ ।’

चितवनमा ‘निलो क्रान्ति’

प्रतिवेदनमा चितवनले निलो क्रान्ति गरेको र यसले अहिलेकै निर्वाचन प्रणालीमा पनि कुनै दलले दुईतिहाइ ल्याउन सक्छ भन्ने सन्देश दिएको उल्लेख छ । ‘चितवन २ मा हामीले ७५५ मत पायौँ । त्यसले अहिलेकै निर्वाचन प्रणालीमा पनि एउटै दलले दुईतिहाइ बहुमत ल्याउन सम्भव छ भन्ने संकेतचाहिँ गर्छ,’ प्रतिवेदनमा छ, ‘यो देशमा पटकपटक राजनीतिक आन्दोलन भए । मानिसको रगत बग्यो । कैयौँ सहिद भए । तर, ०७९ को संघीय निर्वाचनमा चितवनले प्रचलित क्रान्तिको परिभाषा नै बदलिदियो । विगतका क्रान्तिहरूमा अनुहारमा आक्रोश र हातमा ढुंगामुढा, हतियार हुने गर्थे । तर, ‘चितवन क्रान्ति’मा अनुहारमा मुस्कान र हातमा फूल थिए । यसरी चितवनवासीले ‘लाल’ होइन ‘निलो क्रान्ति’ गरिदिए । चितवनले राजनीतिमा नवीन परिवर्तनको बाटो देखाइदियो ।’

स्वर्णिम उपसभापति, सबै सांसद केन्द्रीय सदस्य

उपनिर्वाचनबाट सांसद निर्वाचित भएका अर्थशास्त्री डा। स्वर्णिम वाग्लेलाई रास्वपाले उपसभापति बनाएको छ । ३८ सदस्य रहेको केन्द्रीय समितिलाई ६४ सदस्यीय बनाइएको छ । पार्टीका सांसद र सातै प्रदेशका सभापतिलाई पदेन केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ । त्यस्तै, थप पाँचजना मनोनीत गरिएका छन् ।

पालिकाका उम्मेदवार छान्न क्लब, आचरण परीक्षण गरिने

रास्वपाले वडा र पालिकामा आफ्नो उम्मेदवार छान्न उम्मेदवारको क्लब गठन गर्ने निर्णय गरेको छ । यो अवधारणाअन्तर्गत अब देशभरका वडा र पालिकामा उम्मेदवार क्लब गठन हुनेछ । वडा र पालिकाको अध्यक्ष बन्न चाहनेले यो क्लबमा सदस्यता लिनुपर्नेछ । त्यसपछि क्लबमा रहेकाको प्रशिक्षण, परीक्षण र आचरणलगायत पाँचवटा चरण हुनेछन् । पाँचवटा चरण पार गरेपछि एकजनालाई पार्टीले उम्मेदवारको टिकट दिनेछ । वडा र पालिका सभापतिले भने सीधै चौथो चरणमा प्रवेश पाउनेछन् ।

यो समाचार आजको नयाँपत्रिकामा दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>