चितवन विशेष

नारायणगढमा मंसिर १६ गते कवि भूपिनको कविता उत्सव हुँदै

Banner

चितवन, मंसिर १३-

आगामी मंसिर १६ गते नारायणगढमा लोकप्रिय कवि भूपिनको कविता उत्सव हुने भएको छ ।

अक्षर समूहको आयोजनामा चितवन साहित्य परिषद्को प्रेक्षालय नारायणगढमा शनिबार दिउँसो एक बजेबाट उत्सव सुरु हुने अक्षर समूह चितवनले जनाएको छ ।

अक्षर समूहका अध्यक्ष रमेश प्रभातले उत्सवमा ‘भूपिनका कविता’ कृतिको विमोचन गर्नुका साथै कविता वाचन, कविताको बारेमा छलफल र विमर्श हुने तयारी गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भूपिन समकालिन साहित्यमा धेरैले रुचाइएको कवि भएकोले कार्यक्रमलाई आफूहरुले उत्सवको रुपमा मनाउन लागेको बताए । उनले भने, ‘ भूपिन देव्रे विचार राख्ने, प्रेमका मात्र कविता लेख्ने तथा छन्दका मात्र कविता लेख्ने कवि होइनन् । स्वच्छन्दरुपमा सबै खाले विचार समूहलाई प्रभावित पार्ने धेरै मनपराइएका कवि हुन् । उनको कविताहरुलाई प्रकाशकले समेटेर फेरि अर्काे स्वरुपमा कृति छाप्नु हाम्रो लागि खुसीको विषय भएकोले पनि यो सबै कविता प्रेमीहरुको लागि उत्सवको विषय हो ।’

उत्सवमा कविहरु रेशम विरही, निमेष निखिल र समालोचक डा एक नारायण पौडेल, साहित्यकार ईश्वर कँडेलले भूपिनका कवितामाथि अपरेसन गर्ने छन् । कार्यक्रममा कवि भूपिनले आफ्ना लोकप्रिय कविताहरु वाचन गर्ने छन् ।

आफ्ना सुन्दर कविताहरु दर्शकहरुलाई आफ्नो वाचन शक्तिले मन्त्रमुग्ध पार्ने अद्भुत क्षमता भएका कवि भूपिनलाई सुन्नसमय मिलाउन अक्षर समूहले सबै साहित्यप्रेमीलाई आग्रह गरेको छ ।

बाग्लुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका अब्बल कवि भूपिन तीन दशक बढी समयदेखि कविता लेखनमा सक्रिय छन् । भूपिनको उत्कृष्ट कविताहरुलाई छानेर बुक हिल प्रकाशन गृहले ‘भूपिनका कविता’ दसैँको अवसरमा बजारमा ल्याएको हो । उनको दुई कविता संग्रह ‘हजार वर्षको निद्रा’ र ‘सुप्लाको हवाइजहाज’ बाट पाठकहरुले अत्यधिक रुचाएका ६० वटा कविता समावेश गरेर नयाँ संग्रह प्रकाशन गरिएकोले यसलाई जुम्ली कविता संग्रह भनिएको छ ।

एक दर्जन बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका कवि भूपिनको २०५३ सालमा ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’कविता संग्रह, २०६६ सालमा ‘हजार वर्षको निद्रा’ कविता संग्रह, २०६९ सालमा निबन्ध संग्रह चौबिस रिल, २०७२ सालमा ‘सुप्लाको हवाइजहाज’ कविता संग्रह र २०७५ सालमा मैदारो उपन्यास प्रकाशित भइसकेका छन् । अहिले बजारमा आएको कविता संग्रह ‘भूपिनका कविता’ उनको छैठौं कृति हो । यसै वर्ष उनको निबन्ध संग्रह ‘चौबिस रिल’ को तेस्रो संस्करण र नयाँ निबन्ध संग्रह प्रकाशनको तयारीमा कवि भूपिन लागेका छन् ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको उपप्राध्यापकसमेत रहेका कवि भूपिनले अमेरिकाबाट नेपाली अन्तर्राष्ट्रिय साहित्य समाज पुरस्कार, उत्तम शान्ति पुरस्कार, अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कारसहित एक दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरेका छन् । संरक्षण कविता आन्दोलनका संस्थापकसमेत रहेका भूपिन अक्षर समूह चितवनका निवर्तमान अध्यक्ष हुन् । अहिले उनले अफ द बिट जेनेरेशन संस्थाको नेतृत्व गरिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>