चितवन विशेष
भरतपुर मेडिकल सिटी भएकाले कुनै नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुँदैन: मेयर दाहाल

चितवन, मंसिर ७-
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर मेडिकल सिटी भएकाले कुनै नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुने बताएकी छन् ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियनले भरतपुरमा गरेको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै मेयर दाहालले राजधानीपछिको मेडिकल सिटी भरतपुर भएकाले यहाँ प्राथमिक स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नपरेको बताएकी हुन् ।
भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, दुई मेडिकल कलेज, क्यान्सर अस्पताल, दर्जनौ अस्पताल तथा वडागतरुपमा स्वास्थ्य चौकी सञ्चालनमा रहेकाले स्वास्थ्य सेवाको पहुँचमा रहेको मेयर दाहालले बताइन् । उनले एम्बुलेन्स चालकले प्राकृति आपत, विपद्, महामारीजस्ता समयमा बिरामी तथा घाइतेको पक्षमा गरेको कार्यको उच्च प्रसंशा गरिन् ।
कार्यक्रममा मेयर दाहालले स्थानीय, प्रदेश र संघको समन्वयमा एम्बुलेन्स चालकका समस्याहरु समाधान गर्न अग्रसर रहेको प्रतिबद्धता व्यक्त गरेकी छन् । मेयर दाहालले चालकलाई तालिम, स्वास्थ्य उपचार, सामाजिक सुरक्षा कोषजस्ता विषयलाई समधान गर्न सबै तहसँग समवन्यकारी भूमिका निर्वाह गर्न तयार रहेको बताइन् ।
संस्थाका अध्यक्ष नवराज लामिछानेले प्रगति प्रतिवेदन पेस गर्दै अहिलेको कार्यकालमा पूरा नभएका काम आमागी नेतृत्वले पूरा गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कानुनविद्ध एकराज भण्डारी, पूर्वगृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वश्रम रोजगार तथा यातयातमन्त्री घनश्याम दाहाल, बागमती प्रदेशका सांसद ईश्वर सापकोटा ‘सुमन’ लगायतले मन्तव्य राखेका थिए ।
दोस्रो राष्ट्रिय सम्मेलनले बिहिबार नै १७ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने संस्थाका अध्यक्ष लामिछानेले जानकारी दिए । संघमा ६४ जिल्लाका ६ हजार जना एम्बुलेन्स चालक आवद्ध रहेका छन् ।

























