चितवन विशेष

चितवनका संरक्षणकर्मीको माग: गैंडा तस्करलाई जन्मकैदको कारबाही गर

Banner

चितवन, मंसिर ५-

चितवनका संरक्षणकर्मी र संरक्षण क्षेत्रमा कार्यरत संघसंस्थाहरुले गैँडा तस्करलाई जन्मकैदको कारबाही गर्न माग गरेका छन् ।

रत्ननगरका संरक्षण तथा पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।

ती संघसंस्थामा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, अध्यक्ष टिकौली मध्यवर्ती सामूदायिक वन उपभोक्ता समूह, क्षेत्रीय होटल संघ सौराहा, चितवन, बर्ड एजुकेशन सोसाइटी सौराहा, चितवन, नेचर गाइड एशोसियसन, सौराहा, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान, युनाइटेड जंगलगाइड सर्भिस, वाइल्ड लाईफ भिक्टिम फण्ड रहेका छन् ।

निकुञ्जमा तस्करले गैंडाको मारेको घटनाप्रति दुःख व्यक्त गर्दै उनीहरुले निकुञ्ज र नेपाली सेनाको सुरक्षा रणनीतिक कमजोरीमाथि प्रश्न उठाएका छन् । विज्ञप्तीमा तस्करले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने सौराहा सेक्टरको चप्परचुली सुरक्षा पोष्ट चुरेरेन्ज नजिकबाट करिब तीन किलोमिटर दक्षिणपूर्व चुरेको नजिक शालघारीमा अन्दाजी १८ र ६ बर्षको पोथी गैंडा सात दिनको अन्तरालमा खाल्टोमा पारी हत्या गर्नु सुरक्षा निकुञ्ज प्रशासनको कमजोरी भएको उल्लेख गरिएको छ ।

गैंडाको हत्या गरी सो को खाग, खुरसमेत लगिसकेको अबस्थामा भेटिएको भन्दै संरक्षणकमीहरुले निकुञ्जको मुख्य सुरक्षा र प्रशासनिक व्यवस्थापनमा जिम्मेवार नेपाली सेना अन्तर्गतका सुरक्षापोष्ट र निकुञ्ज अन्तर्गतका कर्मचारीहरुको गतिविधिमा प्रश्न खडा भएको विज्ञप्तिमा जनाइएको छ । रत्ननगरको मृगकुञ्ज उपभोक्ता समितिको अगुवाइमा निकालिएको विज्ञप्तिमा मुख्य चाडपर्व तथा राजनीतिक उतारचढाबका समयमा हुन सक्ने जोखिमको पूर्वअनुमान तथा रक्षात्मक रणनीति तयार हुन नसक्नु गम्भीर त्रुटि भएको जनाइएको छ ।

विज्ञप्तिमा पर्यावरणीय, पर्यटकीय तथा सांस्कृतिक महत्व बोकेका दुर्लभ वन्यजन्तुहरु समय समयमा मारिनु र तिनको हत्यारा लगायत अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न नसक्दा तस्करहरु निकुञ्जमा सक्रिय भइरहने जनाइएको छ । त्यसैगरी घटनाको सम्बन्धमा सरकारका सम्पूर्ण अंगहरु र वन्यजन्तुको संरक्षणमा आबद्ध समुदायलाई समेत प्रत्येक्ष संलग्न गराई घटनाको अनुसन्धान गरी सो घटनामा दोषी जो कसैलाई पनि कानुन बमोजिमको कडा भन्दा कडा कारबाहीको माग विज्ञप्तिमा गरिएको छ । संरक्षणकर्मीहरुले तस्करहरुलाई जन्मकैदसम्मको कानुनी कारबाहीको माग गर्दै सदैब संरक्षण र पर्याबरणीय सुरक्षाको लागि कटिबद्ध हुँदै चितवन राष्ट्रिय निकुञ्जलाई सहयोग र साझेदारी गर्न तयार रहेको जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>