गोरखा
नारायणगढ रोटरीले गोरखामा बनाएको झण्डै ५२ लाख रुपैयाँको खानेपानी परियोजनाको उद्घाटन

चितवन, मंसिर ४-
रोटरी क्लब अफ नारायणगढले निर्माण गरेको झण्डै ५२ लाख लागतको रोटरी नवलपुर खानेपानी परियोजनाको उद्घाटन भएको छ ।
सिरानचोक गाउँपालिका–३ हर्मी, गोरखामा सो परियोजनाको समुद्घाटन तथा परियोजना हस्तान्तरण गरिएको हो ।
परियोजनाको समुद्घाटन रोटरी क्लब अफ नारायणगढका अध्यक्ष भोलानाथ लामिछाने, डिष्ट्रिक्ट ३२९२ जोन ६ का असिस्टेन्ट गभर्नर दिनुप बराल, रोटरी क्लब अफ पास्को केन्नेविक, रोटरी क्लब अफ वाल्ला वाल्लानुन, रोटरी क्लब अफ वाल्लावाल्ला सनराइज, ट्राइसिटिज सनराईजका प्रतिनिधिहरू सारा आर्चर, पिटर ट्राभिस, जेनिस जेल कर्न, कर्तिस एलन नेल्सन, फ्लाभियन सावाडोगा, स्टेभनएलनसिमन्स, सिरानचोक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जगदीश्वर ढकालले संयुक्त रूपमा गरेका हुन् ।
रोटरी नवलपुर खानेपानी परियोजनाको कुल लागत ५१ लख ८२ हजार ८९७ रुपैयाँ १० पैसा रहेको छ,जसमध्ये रोटरी क्लब अफ नारायणगढबाट तीन लाख ७४ हजार २६७, डिष्ट्रिक्ट ३२९२ बाट दुई लाख ६२ हजार तथा बाँकी सम्पूर्ण रकम रोटरी क्लब अफ पास्को केन्नविक र रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ५०८० बाट प्राप्तभएको क्लबका सचिव सेवन पन्तले जानकारी दिएका छन् । त्यस्तैगरी खानेपानी मुहानको जग्गा सूर्यबहादुर ढकाल तथा राममाया ढकालबाट निःशुल्क प्राप्त भएको हो ।
स्वार्थभन्दामाथि सेवाभन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै अगामी २७ नोभेम्बरका दिन आफ्नो २२औँ स्थापना दिवस मनाउन लागिरहेको रोटरी क्लब अफनारायणगढले रोटरीबास परियोजना अन्तर्गत सो परियोजना निर्माण गरेको हो । उक्त कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका पूर्वअध्यक्ष अरुण खनाल, वर्ष २०२३\२४ का लागि निर्वाचित अध्यक्ष यज्ञमुनि बज्राचार्य, प्रथम उपाध्यक्ष गुणेश्वर महतो, सचिव सेवन पन्त, उपभोक्ता समिति अध्यक्ष जुम्मादिन मियाँ, योजना परिकल्पनाकार सन्तोष मजाकोटी, परियोजना म्यानेजर प्रज्वल शर्मा पङ्गेनी, स्थानीय विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर न्यौपानेको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।
क्लबका अध्यक्ष लामिछानेका अनुसार उक्त खानेपानी परियोजनाबाट हर्मीका २७ घरधुरीका करिब १३५ जनाभन्दा बढी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । त्यस्तैगरी त्यहाँ रहेको मस्जिदको लागि एउटा धारा उपलब्ध गराइएको छ भने त्यहाँ रहेको एउटा विद्यालयमा दुईवटा धारा, एउटा फिल्टर, एउटा प्याड भेन्डिङ मेसिन पनि उपलब्ध गराइएको छ, जसबाट त्यहाँ रहेका ३०० बढी विद्यार्थीहरू लाभान्वित भएका छन्।