समाचार

महासचिव गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरीको लेक लागेर मृत्यु

Banner

पोखरा, कार्तिक १५-

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण आधार शिविरमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढंगानाको मृत्यु भएको छ। बुधबार बिहान कार्यस्थल घान्द्रुक फर्किने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

४ हजार १ सय मिटरको उचाइमा रहेको आधार शिविरमा महासचिव गुटेरेसको सुरक्षार्थ असई ढुंगानासहितको १४ सदस्यीय टोली गत शनिबार पुगेको थियो। ११ जना नेपाली सेना र ३ जना प्रहरी गरी १४ जनाको टोली सुरक्षार्थ खटिएको थियो। महासचिव गुटेरेस सोमबार दिउँसो पोखरा आइपुगेका थिए। मंगलबार बिहान अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका थिए। प्रहरी सहायक निरीक्षक ढुंगानासहितको टोली बुधबार पैदल यात्रा गर्दै फर्किएको थियो।

पैदल यात्रा गर्दै फर्किने क्रममा प्रहरी सहायक निरीक्षक ढुंगानालाई श्वासप्रश्वासमा समस्या भएको प्रहरीले उल्लेख गरेको छ। पदयात्रा मार्ग अन्तर्गत हिमालय भन्ने ठाउँमा ढुंगानासहितको टोली बास बसेको थियो। बास बसेर बिहान हिँड्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई एयरडायनाष्टिको हेलिकप्टरमार्फत थप उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो।

अस्पतालमा ल्याए लगत्तै चिकित्सकले बिहान ९ बजेर ४६ मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनबहादुर थापाले जानकारी दिए। एसपी थापाका अनुसार बिहान उठेर सुप समेत खाएका ढुंगानाको स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टर मार्फत थप उपचारको लागि पोखरा ल्याइएको थियो। ४२ वर्षीय ढुंगाना कास्कीको पर्यटकीय गाउँ घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>