Breaking News

शिक्षण पेसा त्यागेर फूलखेतीमा लागे चितवनका अमित, १० लाख बढी आम्दानीको अपेक्षा

Banner

पूजा ढकाल

चितवन, कात्तिक १५-

हातमा मास्टर डिग्री(एमए)को सर्टिफिकेट लिएका चितवन कालिका नगरपालिकाका–२ निवासी अमित बास्तोला फूलखेती तर्फ आकर्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा डिग्री सकाएर आठ वर्ष शिक्षण पेसा समेत अंगालेका अमितले पछिल्लो पाँच वर्षदेखि भने परिवारसँग मिलेर फूल खेती गर्दे आएका छन् । उनले फूलखेती गर्न भन्दा पहिला आधारभूत विद्यालय वनकठ्ठामा चार वर्ष र शान्ति एकेडेमीमा चार वर्ष पढाएका हुन् ।

तर, पछिल्लो चार वर्षदेखि भने शिक्षण पेसा त्यागेर उनी परिवारसँगै खेतमा देखिन्छन् । फूलखेती गरेका उनले पहिलो वर्ष चार कठ्ठाबाट सामूहिक रुपमा फूलखेती सुरु गरे । पहिलो वर्षमै फूलखेती राम्रो भएपछि अमितले अहिले फूलखेतीको लागि क्षेत्रफल बढाएर तीन बिघा (६० कठ्ठा) पुर्‍याएका छन् । उनका अनुसार पहिलो वर्ष चार कठ्ठामा फूल खेती गर्दा ६० हजार आम्दानी भएको थियो र लगानी २० हजार कटाएर ४० हजार फाइदा भएको थियो । उनी भन्छन्, ‘ चार कठ्ठाबाट बढाएर अहिले तीन बिघामा सयपत्री र गोदावरी फूलको उत्पादन गरेको छु । मसहित परिवारका ८ सदस्य मिलेर उत्पादन गरेको फूल तिहारमा चितवनमै बिक्री भए पनि अरु समयमा भने काठमाडौँ, पोखरा, बागलुङ, दाङ, सुर्खेतलगायत विभिन्न जिल्लामा बिक्री हुने गर्छ । ’

उनले दिएको जानकारी अनुसार उन्नत बिउको कारण बिगतको वर्षमा भन्दा पछिल्लो वर्ष उत्पादन बढ्दै गएको छ । एउटा बोटबाट तीन वटा माला उत्पादन गर्न सकिन्छ । त्यस्तै नेपाली बिउ लगाउँदा २५ प्रतिशत फूल सिङगल (भाले) फूल निस्कने र भारतबाट लाएको बिउमा भने चारदेखि पाँच प्रतिशत बिउ मात्रै सिङगल पर्ने गरेकोले बिउ भारतबाट ल्याउने गरेको उनको भनाइ छ । अमितका अनुसार सयपत्रीको भारतबाट कलकतिया बिउ १ किलो ल्याउँदा २५\३० हजार, टेनिसबल ल्याउँदा एक लाख रुपैयाँ प्रतिकिलो पर्ने गर्छ ।

गत वर्ष ५० कठ्ठा र यस वर्ष आफ्नो र भाडाको जग्गा गरी ६० कठ्ठामा फूल खेती गरेका उनेले टेनिसबल र कालकतिया प्रजातिको सयपत्री फूल लगाएका हुन् । जसको बिउ भारतबाट ल्याउँदा र बारीमा सिचाइँ तथा खेतलाको गरी सबै खर्च पाँच लाख रुपैयाँ भएको र यसबाट आम्दानी १० लाख भन्दा बढी हुने अनुमान आफूहरुले गरेको उनले जानकारी दिए । उनका अनुसार उनीहरुले प्रतिकिलो सयपत्री फूल गर्त वर्ष ५०० रुपयाँ किलोमा बिक्री गर्दौ आएका थिए भने यस वर्ष पनि सोही मूल्यमा फूल बिक्री गर्ने योजना छ र एक किलो फूलबाट पाँच वटा माला हुर्ने गर्छ ।

मौसम अनुसार फूल उत्पादन घटबढ हुने, यस वर्ष समय समयमा पानी परेको कारण फूल उत्पादन राम्रो भएको बताउँदै उनी भन्छन्, ‘अरु खेती गर्दा लगानी र आम्दानी बराबर हुन्छ भने यसबाट राम्रो आम्दानी लिन सकिन्छ र म यसप्रति सन्तुष्ट छु । साथै नगरपालिकाले विगतको वर्षदेखि फूलखेतीका लागि अनुदान दिन थालेको र सरकारले पलास्टिकको माला आयातमा रोग लगाएसँगै फूल घरैबाट बिक्री हुन थालेको छ । यस्तै हामीले वर्षीक ६\७ हजार माला र १०\१२ कुइन्टल फूल बिक्री गर्दौ आएका छौँ । ’ त्यस्तै अहिले उमारेको विरुवाबाट भने माघ महिनामा फूल निकाल्न सकिने र आफूहरुले उत्पादन गरेको विरुवा पनि इलाम, कञ्चनपुर, डडेलधुरालगायत ४० भन्दा बढी जिल्लामा निर्यात हुने अमितले नारायणी अनलाइनलाई जानकारी दिए ।
कालिका नगरपालिकाका मेयर विनोद रेग्मी पहिले सबैले पुरानो बाली धान, गहुँ, मकै लगाउने परम्परा थियो भने अहिले त्यसलाई परिमार्जन गरेर स्थानीय नगदे बाली तर्फ आकर्षित भएको बताउँछन् । जसको कारण आयआर्जनको स्रोत बलियो हुने गर्छ । फूलखेतीबाट छोटो समयमै आम्दानी लिन सक्ने, आत्मनिर्भर बन्ने, विदेश पलायन हुनबाट समेत रोक्ने भएकोले आगामी दिनमा यसलाई व्यवस्था गरेर लैजाने र यस वर्षबाट नगरपालिकाले ९ किसानलाई अनुदान दिएको उनले बताए ।

त्यस्तै नगरपालिका कृषि शाखा प्रमुख लक्ष्मण पोख्रेलका अनुसार गत वर्ष दुई किसानलाई फूलखेतीका लागि अनुदान दिएको नगरपालिकाले यस वर्ष आवेदन माग गरेर ९ जना किसानलाई अनुदान दिएको छ । यस वर्ष कालिकाको ६ बिघा ४ कठ्ठा क्षेत्रफलमा फूल खेती गरिएको बताउँदै उनी भन्छन्, ‘हामी आगामी दिनमा अनुदानको दायरा बढाएर कालिकालाई फूलमा आत्मनिर्भर बनाउने योजना छ ।’ उनले नगरपालिकाले प्रति विरुवा २.५ रुपयाँको दरले अनुदान दिएको छ र तुलनात्मक रुपमा गत वर्ष भन्दा यस वर्ष फूलखेती पनि राम्रो भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>