विचार/ब्लग

शहरी सौन्दर्यमा उपयोगी छतिवनको रुख, भ्रम अनि यथार्थ

Banner

गिरीराज उपाध्याय

छतिवन रुख ऊष्ण र समशितोष्ण हावापानीमा पाइने एक मध्यम कदको सदाबहार वनस्पती हो । अफ्रिका महादेशदेखि भारत, चीन, दक्षिणपूर्व एसिया र अष्ट्रेलियासम्म पाइने यो वनस्पती राजमार्गको सडक किनारमा सौन्दर्यकरण र हरियालीको लागि लगाउने गरिन्छ ।

यो वनस्पतिलाई संस्कृतमा सप्तपर्निका, नेपालीमा छतिवन, अग्रेजीमा डेभिलअस ट्री (भूतको रुख) र हिन्दीमा सैतानका रुख भनिन्छ । एपोसाइनेसि परिवारअन्तर्गत पर्ने यो वनस्पतीको वैज्ञानिक नाम एल्सटोनिया स्कोलारिस हो । सामान्यतया एउटै घेरामा ७ वटा पातहरु हुने भएकाले यसलाई सप्तपर्निका भनिएको हो । यो विरुवाको जेनेरिक नाम एडिनवर्ग विश्वविद्यालयका प्रख्यात वनस्पतिशास्त्री प्रोफेसर चार्लस् एल्सटनको नामबाट राखिएको हो भने स्फेसिफिक नाम चाहिँ यसको प्रयोगको आधारमा राखिएको हो । यसको काठ वा बोक्रा विद्यार्थीले लेख्ने पाटी वा बोर्ड बनाउन प्रयोग हुने भएकोले स्कोलारिस राखिएको हो ।

मझौला आकारको (४० मि.) साइज, बाक्लो र नझर्ने खालका पात भएको यो विरुवा वातावरण प्रदूषण र प्रतिकुल हावापानी सहनसक्ने, रुखोमाटो मा पनि हुर्कन सक्ने र गाई वस्तुले पनि नखाने भएको हुनाले सडक किनारामा सजिलै हुर्काउन सकिन्छ ।

ठूलो झुप्पामा (एउटै झुप्पामा ५०० वटा सम्म फूल) क्रिम जस्तो सेतो रङको फूल फुल्ने यो विरुवाको फूल फुल्ने समय मंसिरदेखि माघसम्म भएको हुनाले यसलाई जाडोमा फुल्ने वा ‘विन्टर वुलुमिङ’ पनि भनिन्छ । एउटै फूलको बिचमा परागसेचन हुने यो विरुवा माहुरी, पुतली, झिङ्गा तथा रातको पुतलीलगायतले परागसेचन गछर््न् । यस विरुवामा दिउँसोको साथसाथै रातीमा पनि परागसेचन हुने गर्छ । परागसेचन गराउने किराहरु आकर्षित गर्न यो विरुवाको फूलबाट एक प्रकारको गन्ध आउने गर्छ । जसले किराहरुलाई आकर्षित गर्छ ।

उपयोगिताका हिसाबले यो वनस्पति एकदमै उपयोगी मानिन्छ। प्रशिद्ध कवि रविन्द्रनाथ टैगोरले विश्व भारती विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीलाई छतिवनको पात दिने चलन चलाएका थिए । त्यस्तै बुद्ध धर्मका अनुसार गौतम बुद्धले यही रुखमुनि बसेर बुद्धत्व प्राप्त गरेका थिए भन्ने भनाई पनि पाइन्छ । त्यस्तै अन्य गुणहरू यसप्रकार रहेका छन्:

१. औषधीय गुणः एउटा महत्त्वपूर्ण भनाइ छ ‘मन्त्र नभएको अक्षर हुन्न औषधि नभएको विरुवा हुन्न’ । यस विरुवामा पनि हाम्रो शरीरमा लाग्ने विभिन्न रोगहरुका विरुद्ध प्रयोग हुने रसायनहरु हुन्छन् । जस्तैः घाऊ निको गराउने, विभिन्नहरु जिवाणु मार्ने, जन्डिस निको पार्ने, दम, कोलेस्टेरोल, मलेरिया निको पार्ने, झाडापखाला नियन्त्रण गर्ने, शरीरको प्रतिरोधात्मक क्षमता बढाउने, क्यान्सर निको पार्नेलगायत । त्यसैले यो एउटा महत्वपूर्ण औषधि बिरुवा हो ।

२.आलंकारिक विरुवाको रुपमा सडक किनारलाई आकर्षक बनाउन र हरियाली निर्माण गरी वातावरणीय प्रदूषण कम गर्न यो ज्यादै उपयोगी हुन्छ । यो रुख लगाएको सडकको किनारा ज्यादै सुन्दर देखिन्छ ।

परम्परादेखि यति महत्व बोकेको यो विरुवा लाई आखिर किन सैतानका रुख भनिन्छ त ?

यसको बारेमा केही भनाइ र अन्धविश्वासहरु छन् । यसको बारेमा छलफल गरांै ।

१.अठारौ सताब्दीमा संयुक्त राज्य अमेरिकाको न्यु जर्सीमा अफ्रिकन नागरिक र विद्रोही नोकरलाई हत्या गर्नको लागि त्यहाँका शासकहरुले यो छतिवनको रुखलाई प्रयोग गरेको हुनाले यसको नाम डेभिल्स ट्री राखिएको भन्ने इतिहास छ।

२.कुनै किसानको परिवारको सदस्यले उक्त रुख काटेर लडाउन खोज्दा काट्ने मान्छे मरेको र आफ्नो परिवारको सदस्य मरेको देख्न नसकेर स्वयं किसान पनि सोही रुखमा झुण्डिएर मरेको हुनाले यसको नाम डेभिल्स ट्री राखिएको भन्ने पनि पढ्न पाइन्छ ।

३.यदि कुनै मानिसले यो रुखलाई छोयो भने छुने मान्छेको हातै कालो हुन्छ भन्ने अन्ध विश्वासका कारण पनि यसको नाम डेभिल्स ट्री रहेको देखिन्छ ।

४.रातको समयमा यो छतिबन रुख भएको ठाउँमा गएर रुखको बोक्रा नजिकै कान राखेर सुन्यो भने बच्चा डरले काँपिरहेको जस्तो आबाज आउँछ भन्ने अन्ध विश्वासले पनि काम गरेको देखिन्छ।

५. रातको समयमा यो रुख भएको ठाउँमा जादाँ कालो रंगको गाडी जस्तै चिजले लखेट्ने र केही पर पुगेपछि हराउने गर्छ। उक्त लखेट्ने गाडीको चालक भुत वा राक्षस हो भन्ने अन्धविश्वासका कारण पनि यो छतिवन रुखको नाम भूतको रुख राखिएको कुरा विभिन्न लेखहरुमा पढ्न पाइन्छ।

यो वनस्पतिको धेरै औषधीय गुण भए पनि यसमा केही हानिकारक रसायनहरु भने अवस्य पाइन्छन् जसको कारणले स्वास्थमा केही समस्या देखिन्छ । यो वनस्पतिमा पाइने मुख्य रसायनमा ट्रोपाने अल्कालोइडहरु जस्तै एट्रोपिन, हाइस्क्यामिन, स्कोपोलामिन, शोलारिसिन, पिशोलारिसिन, भालेसामिन, पिक्रिनिनलगायत पाइन्छन् । यी रसायन हरुको अधिक प्रयोग ले मानव स्वास्थ्यमा समस्या ल्याउन सक्छ । यी रसायन बाहेक रातको समयमा यस विरुवाको फूलबाट आउने गन्धका कारण अक्सिजन कमी भई सास फेर्न गार्हो हुने र राती सुत्न समस्या हुन सक्छ । परागसेचनको समयमा अधिक परागकणका कारण एलर्जी पनि हुन सक्छ भने यसको चोप छालामा प¥यो भने छाला पोल्ने वा घाउ हुन सक्छ । त्यसकारण गर्भवती महिला र बालबालिकाहरुलाई यो रुखको नजिक जान नदिदाँ राम्रो हुन्छ ।

अमेरिकामा अन्ध विश्वासका कारण अठारौं शताब्दी तिरै यी रुखहरु काट्न थालियो । त्यसै गरी भारतमा पनि कुनै वैज्ञानिक अनुसन्धाननै नगरी पत्रिका र अन्य इलेक्ट्रोनिक समाचार माध्यममा आएका भ्रम र अफवाह पूर्ण समाचारका आधारमा मानिसको स्वास्थ मा प्रतिकुल असर पु¥यायो भनि सन् १९४० को दशकमा राजमार्गको सडक किनारमा सौन्दर्यकरणका लागि लगाइएका हजारौं छतिवनका रुखहरु काटिए । वास्तबमा यो अल्प ज्ञानको परिणाम थियो । छतिवनको मात्र घना जंगल भएको ठाउँमा रातको समयमा स्वासप्रस्वासमा समस्या हुनसक्छ । त्यस्तै फूलको गन्धका कारण टाउको दुख्ने , वाकवाकी लाग्ने हन्छ भने परागकणका कारण एलर्जी पनि हुन सक्छ । त्यो भन्दा बाहेक यस रुखसँग जोडिएका कुनै पनि किम्बदन्ती सत्य होइनन् । यसर्थ हल्लाको पछि नलागी सदाबहार प्रकृति र मध्यम कदको यो आलङ्कारिक विरुवा सडक छेउमा लगाई शहरलाई हरियाली बनाउन, प्रदूषण नियन्त्रण गर्न र जैविक विविधता कायम गरी वातावरणलाई सन्तुलित राख्न सरोकार वालाहरुलाई सुझाव छ । धन्यवाद।

(लेखक उपाध्याय, सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरका वातावरण विज्ञान विभागका सहायक प्राध्यापक हुन् । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>