देश/प्रदेश

कोशीका मुख्यमन्त्री कार्कीको माओवादीलाई जवाफः एमालेबिना कोशीको सरकार चल्दैन

Banner

विराटनगर, कात्तिक १३-

केन्द्रीय सत्ता गठबन्धनमा रहेको मुख्य घटक माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट एमालेलाई हटाउन दबाब दिएपछि मुख्यमन्त्री केदार कार्कीले हटाउन नसक्ने जवाफ फर्काएका छन् ।

उनले एमालेको समर्थनमा आफू मुख्यमन्त्री भएको भन्दै कोशी प्रदेशको अंक गणितका आधारमा आफूले एमालेलाई सरकारबाट बाहिर राख्न नसक्ने जवाफ दिएका हुन् ।

मुख्यमन्त्री र एमालेबीच आज भएको वार्तामा कार्कीले भने, ‘एमालेबिनाको सरकार गठन गरौं भनेर दबाब आएको छ । मैले स्पष्ट रूपमा भनेको छु– कोशी प्रदेशमा एमालेबिना सरकार चल्न सक्दैन ।’

कार्की एमालेका ३९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरको आधारमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस शेखर समूहका नेता कार्कीले एमाले र कांग्रेसबाट मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

कार्कीमाथि केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले एमालेबिनाको मन्त्रिपरिषद् बिस्तार गर्न निरन्तर दबाब दिँदै आएका छन् ।

वार्तामा सहभागी एमाले संसदीय दल कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् विस्तारको तयारी लगभग सकिएको र भोलिसम्ममा अन्तिम टुंगो लाग्ने बताए ।

उनले भने, ‘एमालेका तर्फबाट हामीले कुरा राख्यौं । हाम्रा तयारीका बारेमा र प्रस्तावका विषयमा कुरा राख्यौं । उहाँले पार्टीसँग थप छलफल गरेर टुंगो लगाउने भन्नुभएको छ । भोलिसम्ममा सबै कुरा मिल्छ ।’ उनले एकदुई दिनभित्रमै कोशीमा मन्त्रिपरिषद् बिस्तार हुने बताए ।

वार्तामा मन्त्रिपरिषद् विस्तार, न्यूनतम साझा नीति तथा कार्यक्रम, बजेटलगायतका विषयमा छलफल भएको सचेतक भण्डारीले जानकारी दिए । उनले भने, ‘सबै कुरा पोजेटिभ छ । एकदुई दिनभित्रमा सबै कुरा मिल्नेछ ।’

कार्तिक १ गते विश्वासको मत पाएका कार्कीले असोज २८ गते २ जना मन्त्री नियुक्त गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि एमाले सशंकित भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>