राजनीति

कृषिको आधुनिकीकरणबाट उत्पादन वृद्धि गर्नुपर्छः अध्यक्ष नेपाल

Banner

काठमाडौँ, कात्तिक १०-
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासंघ आज आयोजित अन्तर्राष्ट्रिय जैविक पर्यावरणीय प्रयोगात्मक कृषि तालिमको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले कृषि उत्पादनमा सरकारले उपलब्ध गराउने अनुदानबाट कृषि उत्पादनको लागत घट्ने बताउनुभयो ।

मुलुकमा भएका राजनीतिक आन्दोलनबाट जनताले राजनीतिक अधिकार प्राप्त गरेको भए पनि आर्थिक–सामाजिक अधिकार प्राप्त नभएको बताउँदै उहाँले वर्गीय शोषणको अन्त नहुँदा आर्थिक रुपान्तरण हुन नसकेको बताउनुभयो । उत्पादन, रोजगारी नै समाजवादीको मुख्य आधार भएको बताउँदै अध्यक्ष नेपालले उद्यमशीलताको विकास गरी आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनमा जनतालाई जोड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

महासंघ अध्यक्ष बलराम बाँस्कोटाले बहुर्राष्ट्रिय कम्पनीले स्थानीय बीउबिजनलाई प्रतिस्थापन गरी कृषि उत्पादनको संरचना, उद्योग कलकारखाना ध्वस्त पार्ने काम गरिहेको बताउनुभयो । यस्ता कामले पुँजीवादी मोटाउँदै जाने अवस्था रहेकाले त्यसको विकल्पमा समाजवादको खाँचो रहेको बताउनुभयो । नेपाल, भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, घाना, अर्जेन्टिना, नाइजेरिया, बेल्जियमलगायत ११ मुलुकका ३२ किसानको सहभागिता रहेको तालिम यही कात्तिक २८ गतेसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>