समाचार

‘चेक बाउन्स’ मुद्दाको चाप बर्सेनि दोब्बरले बढ्दै

Banner

काठमाडौँ, कात्तिक ०८
प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको छ । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता हुने गरेका छन् । काठमाडौँ जिल्लामा आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा बैंकिङ कसुरको मुद्दा दोब्बरले बढेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौँमा ३ हजार ७१५ मुद्दा दर्ता भएका थिए । तर, आर्थिक वर्ष २०७९/०८० मा ७ हजार १०१ वटा त्यस्ता मुद्दा दर्ता भएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई चेक बाउन्सको मुद्दामा अनुसन्धान गर्ने अधिकार दिए पनि काठमाडौँ उपत्यकामा यस्ता मुद्दा धेरै हुने गरेका छन् ।

मन्त्रिपरिषद्ले २०८० असार ५ मा बैंकिङ कसुर सम्बन्धी मुद्दा सबै जिल्ला अदालतबाट चल्ने निर्णय गरेको थियो । त्यसअघि बैंकिङ कसुरका मुद्दाहरूको सुरु कारबाही उच्च अदालतबाट मात्रै गरिन्थ्यो । उच्च अदालतमा म्याद थप गर्न र अनुसन्धान प्रतिवेदन पेस गर्न भौतिक दूरीका हिसाबले टाढा हुने भएपछि काठमाडौँ उपत्यका बाहिरका जिल्लामा बैंकिङ कसुरका मुद्दा दर्ता नै हुँदैनथे । तर मन्त्रिपरिषद्को निर्णयसँगै जिल्लाहरूमा पनि चेक बाउन्सका मुद्दाको चाप बढेको छ ।

काठमाडौँमा चेक बाउन्सका मुद्दाको चाप थामिनसक्नु भएसँगै बैंकिङ कसुरका मुद्दा हेर्न छुट्टै डिएसपी खटाइएको छ । २०७९ साउनबाट ‘बैंकिङ कसुर शाखा’ स्थापना गरेर डीएसपीले सो शाखाको कमाण्ड गर्न थालेका हुन् । डीएसपी खटाएसँगै काठमाडौँ जिल्लाभरिका चेक बाउन्सका मुद्दा टेकुस्थित प्रहरी परिसरबाट हेरिन्छ ।

उपत्यकामा ३ वटा जिल्ला प्रहरी परिसर, काठमाडौँमा १४ वटा वृत्त, भक्तपुरमा २ वटा र ललितपुरका २ वटा प्रहरी वृत्तमा अहिले सबैभन्दा धेरै ‘चेक बाउन्स’का मुद्दा दर्ता हुन्छन् । मुद्दा बढे पनि मुद्दा शाखामा काम गर्ने कर्मचारी थोरै छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा सङ्ख्या अत्यधिक भए पनि त्यसबारे अनुसन्धान गर्ने प्रहरी कर्मचारी १६ जनामात्रै छन् ।

विदेश पठाइदिने, जग्गा मिलाइदिने लगायतका नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा दर्ता हुने गरेका छन् । ‘चेक बाउन्स’ सम्बन्धी मुद्दामा हुने सजाय थाहा नपाएर थोरै पैसा लिएर खाली चेक दिने र त्यसमा वास्तविकता भन्दा धेरै भरेर पनि मानिसहरू प्रहरीमा पुग्ने गर्छन् । सामान तथा सेवाको भुक्तानी नदिने, व्यावसायिक साझेदारीका नाममा धोका दिनेजस्ता घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा छन् । रातोपाटीबाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>