समाचार

एनआरएन निर्वाचनः सिस्टम ह्याक गरेर केसीलाई जिताएको आरोप

Banner

काठमाडौं, कात्तिक ०३-
गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएको घोषणा भएपछि भाँडभैलो भएको छ । केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् ।

एक उम्मेदवार डा.केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखिएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।

निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।

मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् । मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले यो निर्वाचन रद्द हुनुपर्ने बताए । उनले त्यति मात्र नभएर यसमाथि गम्भीर छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे । निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए ।

अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको भनाइ छ । उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले आफूलाई जिताइएको भए पनि यो जितलाई स्वीकार नगर्ने बताए । उनले निर्वाचनमा धाँधली गरिएको दावी गरे ।

डा.बद्री केसी दुई वर्षयता एनआरएनमा अध्यक्ष थिए । त्यसअघि उनी उपाध्यक्ष र महासचिव थिए । महासचिव हुँदादेखि नै उनलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो । प्रतिस्पर्धी दुई उम्मेदवारले यसपटक प्रतिनिधि छनौट र अनलाइन भोटिङमा बद्रीले धाँधली गरेको आरोप लगाउँदै आएका थिए । बहालवाला अध्यक्ष भएका कारण महाधिवेशन र निर्वाचन प्रक्रिया मूलतः बद्रीको नियन्त्रणमा रहेको एनआरएनका एक केन्द्रीय नेता बताउँछन् ।

संघको महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएको घोषणा गरिएको छ । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ निर्वाचित भएका छन् । उपमहासचिवमा सोम सापकोटा र प्रवीण गुरुङ निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>