राजनीति
कोशीमा जस्तो अन्यत्र सरकार परिर्वतन हुन्नः कांग्रेस नेता कोइराला

काठमाडौं, कात्तिक ०३-
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कोशीका कारण अरु प्रदेश र सघीय सरकारमा कुनै असर नपर्ने बताएका छन् ।
बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले कोशी प्रदेशको परिस्थिति भिन्न रहेको बताए । लगातार १० महिनादेखि प्रयास गर्दा पनि कोशी प्रदेशले निकास नपाएपछि आफूहरुले त्यसलाई सल्टाएको बताए । एमालेसँग मिलेर आफ्नो समूहका केदार कार्कीलाई मुख्यमन्त्री बनाएका कोइरालाले भने, ‘अहिले पनि राप्रपाले विपक्षमा भोट हाल्यो नि? (गठबन्धन सरकार बनाएको) त्यो बेलामा पनि भोट नहालेको हालेको भए मध्यावधिमा जान्थ्यो ।’
पार्टी सभापति शेरबहादुर देउवासँग भएको छलफलका क्रममा आफूले संसदीय दलको नेता परिर्वतन गर्न सुझाव दिए पनि नेतृत्व तयार नभएको उनले बताए । त्यसपछि आफूले कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेको कोइरालाले प्रष्ट पारे । त्यसलगतै सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेका डा.शेखरले कोशीको असर अन्यत्र नपर्ने बताए । कोशीमा कस्तो सरकार बन्छ त भन्ने प्रश्नमा उनले जे छ, त्यसलाई मिलाएर जाने बताए ।



























