विचार/ब्लग

रमाकान्त सापकोटाको संस्मरणमा बुबा: १३ वर्षमा धागोले बाँधेको चिठी पढेपछि गुमेको थाहा पाएँ

लेख:

Banner

रमाकान्त सापकोटा

जन्म र कर्ममा योगदान गर्ने प्रातःस्मरणीय बाबा पण्डित भवानीशंकर सापकोटा र बाबाको समेत भूमिका निभाउनु भएको आमा पवित्रा सापकोटालगायत सबै पूर्वजहरू प्रति कृतज्ञ छौं । आत्माले सदा शान्ति प्राप्त गरोस् भन्ने कामनाका साथ श्रद्धाञ्जली अर्पण गर्दछौँ । प्यारा सन्ततीहरूलाई शुभाशिर्वाद ! सफल बाबा÷आमा बन्ने चुनौती सामना गरिरहेका सबै बाबा\आमा हरूलाई हार्दिक शुभकामना !

सान्दर्भिक संस्मरण

२०२२ सालमा जनता सुदर्शन माध्यमिक विद्यालयमा म ६ कक्षा र दाजु ७ कक्षामा पढ्न जाँदा दुवै जनाले सेतो कछाड, सेतो भोटो, सेतो फेता बाँधेर, सेतो चप्पल लगाएर गएको याद छ । पिताजी पण्डित भवानीशंकर सापकोटा २०२२ सालमा ६५ वर्ष वरिपरीमा दिवगंत हुनुभएको भन्ने मैले सुनेको, बुझेको हो । आसाम गौहाटीमा बस्ने बाबाको साथमा दाजु हुनुहुन्थ्यो । पुराण वाचनमा जाने तयारी गरी मेचमा बसेर बिहान चिया पिउँदै गर्दा मेचबाट ढल्नु भएको र तुरुन्तै दिवंगत हुनु भएको भन्ने सुनेको हुँ । सायद, हृदयघात वा मस्तिष्कघातको कारण हुन सक्छ ।

बाबा आफ्नो विवाह हुनु अगाडि देखि नै आसाम बस्नुहुन्थ्यो । विवाहपछि कहिले नेपाल कहिले आसाम बस्नु हुन्थ्यो । २०१६ सालमा कान्छी बहिनी जन्म भएपछि ७ जनाको मध्यम वर्गीय ग्रामीण परिवारमा दुई दिदीको विवाह र बाबाको साथमा दाजु पनि आसाम गएकोले २०२२ सालसम्म आइ पुग्दा घरमा तीन जना मात्र थियौं । पण्डित पण्डितनी बाबा आमाको पहिचान बनेको थियो । हरेक १÷२ वर्षमा केही दिन बाबा आउनु हुन्थ्यो रे । तर, पातलो भेटले गर्दा मलाइ धेरै याद छैन । म नौ वर्ष जतिको हुँदा बाबाले हाम्रो ब्रतबन्ध र पदमा दिदीको विवाह भव्य रुपले सम्पन्न गरेर मलाइ वेद, रुद्री पढ्ने व्यवस्था मिलाएर दाजुलाई लिएर बाबा आसाम गएपछि बाबासँग फेरि भेट भएन । दाजुले उता स्कुल पढ्न थाल्नुभएको र छाडेर आउन नमिलेकोले पनि होला आउने अवसर मिलेन जस्तो लाग्छ । लाहुरेसँग घरायसी सामान चिठी भने आइरहन्थ्यो । एक पटक बाबालाई मैले रातो पेटी र कोट मागेर चिठी लेखें । चिठीमा कमा र लेख्न छुटेछ , आमालाई रातो पेटीकोट आयो तर मलाइ पेटी र कोट आएन । त्यसपछि भने बाबा देहान्त भएको पत्र आयो ।

२२ सालको हिउँदको बेला थियो । आमाले नराम्रो सपना देखें भन्दै पुरोहित÷पण्डितसँग हेराउने गर्नु हुन्थ्यो । एक बिहान घर माथिको डिलमा १०÷१२ जना मानिस हाम्रो घर तिर हेरेर बसेका थिए , सायद तिनीहरू केही सर सल्लाह गर्दै थिए । एक छिनपछि सबै जना डिलबाट झरेर हाम्रो घरमा आए । सबैको अनुहार गम्भीर देखेर ४० वर्ष उमेरकी आमा निकै आत्तिएको जस्तो देखिनुहुन्थो र आगनमा गुन्द्री ओछ्याउनु भयो । देवीप्रसाद सापकोटा, धनञ्जय लम्साल, करुणाराज सापकोटा, खरिलाल सापकोटा, कृष्णप्रसाद सापकोटा, खडानन्द सापकोटालगायत १०\१२ जना आँगनमा बसेको याद छ । आमालाई अलग्गै भुइँमा राखेर करूणाराजले हो या अरु कसैले हातमा लिएको धागोले बाँधेको चिठी खोलेर पढ्न थाल्नासाथ आमा चिल्लाऊन थाल्नु भयो । त्यो बेला मेरो मनमा उब्जेको र बुझेको कुरा भने मलाई राम्रो याद छ । लाहुरबाट भरियासहित कहिले कहिले घरमा आउने , चिनी , चियापत्ती ,मसला ,लुगाफाटा ,नून तेल लिएर आउने केहिदिन बसेर जाने अनि ३÷४ वर्ष अगाडि ब्रतबन्ध गरेर गएका ‘बा’ भन्ने मानिस बितेको बुझें । आमा र अरु सबै रुन थाले । तर, मलाई तुरुन्त रुन आएन भित्र गएर पानीले आँखा भिजाएर रोए जस्तो देखिने कोशिश गरें । जब आमाको सिन्दुर धुने, चुरा फोर्ने र आमा निकै विव्हल भएको, त्यो देखेर ५÷६ वर्षकी बहिनी पनि रुन थालेको । अनि मेरो कपाल खौरन थालेको अवस्थाले बाबा दिवङ्गत हुनुको पीडा अनुभूति सुरु भएको थियो । बाबाको देहान्त हुँदा म १३ वर्षको थिएँ तर पनि बाबासँग सँगै बितेका दिन जोड्दा १÷२ वर्ष पुग्छ कि कुन्नी ! त्यो बेला सम्ममा वेद, रुद्री , लघुकौमदी, सिद्धान्त कौमदी, अमरकोश , हितोपदेश, रघुवंश महाकाव्यलगायत पढ्ने क्रम जारी रहेको बेला स्कुल खुलेकोले ६ कक्षामा भर्ना भएको थिएँ । संस्कृत पढेको र मेहेनत गर्ने बानी बनिसकेकोले स्कुलको अध्ययन सजिलो भयो । स्कुलले सर्वोत्कृष्ठ छात्रको रुपमा घोषणा पनि गर्दथ्यो ।

दिवंगत भएपछि कुण्डली जलाउने चलन, जन्म ,मृत्यु, विवाह सम्बन्धित अभिलेख नरहने कारण बाबाको जन्म र देहान्तको मिति थाहा छैन । तिथि मात्रै थाहा छ । उहाँको जन्म विस. १९५७ तिर पर्वतको ठूलीपोखरी बुमीमा भएको र विवाह भएर दाजु भाई अलग भएपछि टिमिलापाटामा बसोबास भएको भन्ने कुरा सुनेको हुँ । हामी सबै दिदीबहिनी दाजुभाईको जन्म , ब्रतवन्ध, विवाहदेखि तीन नातिनी र एक नातीको त्यही ठाउँमा जन्म भएको थियो । स्मरणीय छ आमाको चौराशी पूजा बाबा आमाको अन्तिम संस्कार त्यही ठाउँमा, त्यही आँगनीमा भएको थियो । भाउजु कृष्णकुमारीको देहान्त र २०७२ को भूकम्पपछि त्यो ठाउँ मात्र संस्मरणको ठाउँ हुन आएको छ ।

(भरतपुर महानगरपालिका–१० निवासी सापकोटा शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार हुन् । )

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>