राजनीति
स्पष्ट परराष्ट्र नीतिले देशको आर्थिक क्षमता बढाउँछ: अर्थमन्त्री डा.महत

काठमाडौँ,भदौ १५-
अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको क्षमता, राष्ट्रिय संरचनाको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढंगबाट कार्यान्वयन गर्ने क्षमता र परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
बिहीबार इन्स्टिच्युट फर स्टाटेजी एन्ड सोसियो इकोनोमिक रिसर्चले आयोजना गरेको साना राज्यको क्षमतासम्बन्धी गोष्ठीमा नेपालमा नेभिगेटिङ प्रतिस्पर्धा र परराष्ट्र नीतिका प्राथमिकताबारे सम्बोधन गर्दै मन्त्री डा. महतले यसो भनेका हुन्।
‘प्रतिस्पर्धाबीच हामीले कसरी हाम्रो प्राथमिकता सेट गर्नुभन्दा अगाडि हामीले हाम्रो क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता छ’, उनले भने। उनले सबैले आफ्नो देशलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्रनीति सञ्चालन गरिरहेका बताए।
‘सानो वा ठूलो देशले आफ्नो देशलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गरेका हुन्छन्। कस्तो खालको परराष्ट्र नीति अवलम्बन गर्दा राष्ट्रहित र राष्ट्रिय स्वार्थको परिपूर्ण हुन्छ, त्यसैका आधारमा परराष्ट्र नीति सञ्चालन हुनुपर्ने’, महतले भने, ‘हामीले पनि त्यही गर्नुपर्छ। हामीले सोच्ने भनेकै देशका लागि हो।’
चीन, भारत वा अमेरिकासँग हामीले डिल गर्दा हामीले हाम्रा कुरालाई बढी प्राथमिकतामा राखेर कुरा गरियो भने नेपालले आफ्नो कुरा गरिरहेको छ भनेर उनीहरुले बुझ्ने पनि उनले बताए।



























