राजनीति
१२ सक्नेबित्तिकै विदेश जानैपर्छ भन्ने मानसिकता त्यागौँ: अर्थमन्त्री महत

काठमाडौं, भदौ १४-
अर्थमन्त्री डा.प्रकाशशरण महतले १२ कक्षाको अध्ययन सक्नेबित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। अर्थमन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरुको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए।
उनले नेपालमा नै धेरै अवसरहरू भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताए। उनले नेपालबाट जाने विद्यार्थीहरु राम्रो विश्वविद्यालयहरुमा नगएको भन्दै उनीहरुले अध्ययन पूरा गर्न सक्ने राम्रो अवसरसमेत पाउन नसकेको बताए।
अर्थमन्त्री महतले नेपालमा टेक्नोलोजी क्षेत्रमा ठूलो अवसर रहेको बताए। उनले पछिल्लो समय ठूलो संख्यामा युवाहरु आइटीमा लागे पनि करको दायरामा भने नआएको बताए।
उनले नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरु निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गरे। उनले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरे। उनले आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि बताए।



























