राजनीति
वाग्मतीमा मन्त्रालय विभाजन: बिनाविभागीय मन्त्रीको जिम्मेवारी चित्रकारलाई

मकवानपुर भदौ ०५-
वाग्मती प्रदेशमा मन्त्रालय विभाजन गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले औपचारिकरुपमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय गठन गरेको हो ।
नयाँ मन्त्रालयको जिम्मेवारी हालका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई दिइएको छ । प्रदेश सभामा कांग्रेसका संसदीय दलका उपनेता चित्रकारले मन्त्री नियुक्त भए पनि मन्त्रालयको जिम्मेवारी पाएका थिएनन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको प्रदेश सरकार गत जेठ पहिलो साता गठन भएको हो ।
प्रदेश सरकारले प्रदेश सभाको बैठक भदौ १७ गते १ बजे आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले सरकारको कार्यविभाजन नियमावली, २०८० तथा प्रदेश आन्तरिक पर्यटन काजसम्बन्धी मापदण्ड, २०८० स्वीकृत गरेको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा संख्या तथा सिमाना हेरफेरका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न बैठकले स्वीकृति प्रदान गरेको छ ।



























