देश/प्रदेश
काठमाडौंमा सुनको किचलो, कर्णालीमा चामल र नुनको पिरलो

मुगु, साउन २३-
काठमाडौंमा तस्करीको सुनले चर्चा पाइरहँदा कर्णालीमा नुनको पिरलो छ। मुगुमा जनताले नुन पाउनै कठिन छ। अर्थात् मुगाली जनताका लागि सुन जस्तै महँगो छ नुन । उता देशको राजधानीमा क्विन्टल सुन तस्करीको किचलो चलिरहेको छ।
कर्णालीका जिल्लामा चामल र नुनको सधैँ पिरलो हुन्छ। अहिले कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा चामलको पनि अभाव छ। मौज्दात पर्याप्त नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल बिक्री वितरणमा रोक लगाएको छ।
कम्पनीले एक सातादेखि चामल बिक्री वितरणमा रोक लगाएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी पुगेका उपभोक्ता रित्तो हात फर्किन बाध्य छन्।
भौगौलिक विकटताका कारण खाद्यान्न उत्पादनमा कमी हुने भएकाले यो समस्या वर्षेनि दोहोरिने गर्छ। खाद्यान्न पर्याप्त नभएका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले साउन ११ गतेबाट चामल बिक्री वितरणमा रोक लगाएको छ।
कम्पनीले चामल बिक्री रोकेपछि सस्तो मूल्यमा खाद्यान्न लिन पुग्ने मुगुका बासिन्दा रित्तो हात फर्किने गरेका उपभोक्ताको भनाई छ।
मुगुमा आर्थिक वर्ष ०७९र८० को स्वीकृत कोटा जिल्लाभरि २६ हजार ९५० क्विन्टल थियो तर समयमा ढुवानी ठेक्का नलगाउँदा कोटाअनुसार मुगुमा चामल पुगेन।
अहिले गोदाममा ६८० क्विन्टल मात्र खाद्यान्न मौज्दात छ। बर्षातका बेला भैपरि आउने विपद् व्यवस्थापनका लागि मौज्दात राखेर संस्थानले बिक्री वितरण बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख पुस्कर भामले जानकारी दिए।
उनका अनुसार भारतले खाद्यान्न निर्यातमा रोक लगाएको हुँदा विपत परेका बेला आवश्यक खाद्यान्न जोहोका लागि बिक्री बन्द गर्नु परेको प्रमुख भामको भनाई छ।
























