राजनीति
माओवादी केन्द्रीय समितिमा नेतृत्वमाथि कतै प्रश्न

काठमाण्डौँ, साउन १९-
नेकपा माओवादी केन्द्रको चौँथो पूर्ण बैठकमा केन्द्रीयस्तरबाट पार्टीको मूल नेतृत्वमाथि बोल्नेहरूले मिश्रित धारणा राखिरहेका छन् ।
बुधबारदेखि सुरु पार्टी केन्द्रीय समिति बैठकमा तेस्रो दिनसम्म आइपुग्दा बोल्ने अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको मौखिक प्रतिवेदन र उनीलगायत शीर्षस्थ नेताहरूको जीवन शैलीलाई लिएर गम्भीर प्रश्नहरू उठाएका छन् । साथै, केहीले जबर्जस्त प्रशंसा समेत गरेका छन् ।
पछिल्लो समय सधैं प्रशंसा मात्रै गर्ने माओवादी पंक्ति यसपटक आलोचनात्मक ढंगले नेतृत्वसँगै प्रश्न राख्न थालेको देखिन्छ ।
केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईं माओवादीको भूमिगतकालीन राजनीतिको आलोचना र आत्मालोचना संस्कृति फेरि फर्किन थालेको अनुभूति भइरहेको बताए । ‘युद्ध कालमा पार्टीभित्र भावना र विचारलाई सँगै राखेर कार्य सम्पादन गरिन्थ्यो । त्यसले स्वच्छ आलोचना र आत्मालोचनाको संस्कृतिलाई कायम गरिरहेको थियो,’ उनी भन्छन्, ‘बीचमा केही समय अलमलिएजस्तो देखिएको थियो ।
अहिलेको केन्द्रीय समिति बैठकमा पार्टीप्रतिको चिन्ता सबैमा देखिन्छ । सबैले को कहाँ सच्चिनु पर्छ भनेर धारणा राखेका छन् । यसपटक भने केन्द्रीय समिति बैठकको हलले त्यो परम्परालाई चिर्ने कोशिस गरेको देखिन्छ ।
केन्द्रीय कमिटी सदस्य लेखनाथ दाहालले पदाधिकारीले बोलेका विषयलाई चिर्दै अध्यक्ष प्रचण्डलाई नै प्रश्न गरे । बैठकको उदघाटन भाषणमा पार्टी पार्टीजस्तो नभएको भनेका प्रचण्डलाई केन्द्रीय सदस्य दाहालको प्रश्न थियो, ‘अध्यक्ष कमरेडको तर्फबाट के गर्नुपथ्र्यो, के पुगेन? तपाईंको तर्फबाट के गर्नुपथ्र्यो, के गर्न सक्नुभएको छैन? पहिले यसको मनन गर्नुहोस् ।’ उनले बिगतमा पार्टी सत्ता र राजकीय सत्तामा रहेका नेताहरूको समीक्षा आवश्यक रहेको भन्दै पार्टी सुदृढीकरणको नारा र आरोप थुपार्ने कुराले मात्रै काम नगर्ने बताए ।
दाहालले उपाध्यक्ष कृष्णबहादुर महरामाथि उठेको सुन तस्करी प्रकरणमा आफू दोषि नभएको भनेर पन्छिन नमिल्ने भन्दै स्पष्टीकरण दिनुपर्ने माग गरे ।
‘बैठकको तेस्रो दिन तीनजना पदाधिकारीहरु उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल र सचिव डिलाराम आचार्यले धारणा राखे । उनीहरू सबैले अध्यक्ष प्रचण्डको प्रतिवेदनको खुलेर प्रशंसा गरे । प्रशंसा गर्नेमा उपाध्यक्ष सापकोटा सबभन्दा अघि देखिए । ‘प्रचण्डमा असाधारण क्षमता रहेको छ । उहाँले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई जोगाउने ल्याकत राख्नुहुन्छ’, सापकोटाले भने, ‘अहिलेको कठिन परिस्थितमा पनि पार्टी जोगाउने प्रचण्डमात्र हो ।’
उपाध्यक्ष भुसालले पनि प्रचण्डको प्रतिवेदनमाथि खुलेरै प्रशंसा गरिन् । उनले अध्यक्षको प्रतिवेदनले जनयुद्धमा जाने, चुनावबाट शान्ति प्रक्रियामा आउने र तेस्रोमा समाजवादी आन्दोलनमा जाने तयारी भएको महशुस भएको बताईन् । यस्तै सचिव आचार्यले पार्टी समाजनुकुल चल्न सक्नुपर्ने भन्दै रुपान्तरणको मुद्दा निरन्तर उठिरहने बताए ।



























