राजनीति
सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसदमा सुन्नुपर्छः महामन्त्री शर्मा

काठमाण्डौँ, साउन १९-
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नक्कली सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताएका छन्।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद बैठकमा खोज्नुपर्ने बताएका हुन्।
उनले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै अविलम्व संसद सुचारु हुनुपर्ने बताए। सुन प्रकरणको गहिराईमा गएर छानबिन हुनुपर्ने उनको भनाइ छ। उनले छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने बताए।
उनले भने, ‘काँग्रेस बैठकले भ्रष्टाचारको सन्दर्भमा भ्रष्टाचारको वर्ग, जाति, धर्म, सम्प्रदाय केही पनि हुँदैन। भ्रष्टाचार केवल भ्रष्टाचार हुन्छ। छानबिन गर्ने सन्दर्भमा कुनै मोलाहिजा नराखीकन सरकारले छानबिन गर्नुपर्छ। निर्दोष कोही फस्नुहुन्न। दोषि कोही उम्किनुहुन्न भनेर निर्णय गरेको छ। यो पनि स्पष्ट पारौँ। नक्कली भूटानी शरणार्थी प्रकरणदेखि सक्कली सुन प्रकरणसम्म छानबिनको लागि माग गरेको छ।



























