Breaking News
चितवनमा राष्ट्रिय परिचयपत्र बनाउने बढे, भरतपुर महानगरबाट दुई महिनामा १४ सयले लिए सेवा

चितवन, साउन १०-
चितवनमा राष्ट्रिय परिचयपत्र बनाउनेहरुको संख्या बढ्दै गएको छ ।
सुरुमा यसको आवश्यकताबारे नागरिकमा अन्योल भए पनि अहिले विद्युतीय राहदानी (ई–पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्यरूपमा लिनुपर्ने बनाएपछि उक्त परिचयपत्र लिने मानिसको संख्या बढ्न थालेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्द बंश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा जिल्ला प्रशासन कार्यालयबाट २५ हजार ४८५ जनाले परिचयपत्रको लागि फोटो खिचाएकोमा गत आर्थिक वर्ष २०७९÷८० मा ३६ हजार ४४७ जनाले राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचाएका छन् । न्यौपानेले सुरुमा राष्ट्रिय परिचयपत्र के हो भनेर नागरिकमा अन्योल रहे पनि अहिले पासपोर्ट बनाउनेदेखि बैँक खातामा पनि अनिवार्य गरे पछि परिचयपत्र बनाउनेको संख्या बढेको हो । प्रशासनमा भीड बढेसँगै भरतपुर महानगरपालिकाले पनि यससम्बन्धी सेवा दिन थालेको छ ।
त्यसैगरी भरतपुर महानगरपालिकाबाट साढे २ महिनाको अवधिमा एक हजार ४०० जनाले राष्ट्रिय परिचय पत्रको सेवा लिएका छन् । महानगरपालिकाको फिल्ड शाखाका अनुसार दैनिक ४५ जनाले सेवा लिने गरेका छन् । जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकाले मात्रै राष्ट्रिय परिचय पत्र सेवा दिँदै आएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा हुने भीडभाडलाई मध्यनजर गर्दै महानगरपालिकाले सेवाको सुरुवात गरेको थियो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको विषेश पहलमा गृह मन्त्रालयको सहकार्यमा सेवालाई महानगरपालिका परिसरबाटै सेवा दिइएको हो ।
२०७५ साल मंसिरमा पाँचथरकी १०१ वर्षीया भगवती भण्डारीलाई तत्कालिक गृहमन्त्री रामबहादुर थापाले पहिलोपटक परिचयपत्र दिएर राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेका थिए । सार्वजनिक सेवामा क्रमशः नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्नेगरी डिजिटल अर्थात् विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको हो । सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरेर राज्यबाट प्राप्त हुने सेवासुविधासँग एकीकृत गर्ने उद्देश्य राखेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जारी गर्ने उक्त परिचयपत्रमा ‘सेक्यूरिटी चिप्स’ जडान गरिएको हुन्छ । देशका सबै जिल्ला प्रशासन कार्यालयमा रहेका केन्द्रबाट अनलाइन फारम भरी राष्ट्रिय परिचयपत्रका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ । राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीले नागरिकताको सक्कल प्रति अनि विवाहित व्यक्तिले विवाहदर्ताको प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ ।
राष्ट्रिय परिचयपत्रमा नागरिकहरूको वैयिक्तक तथा जैविक विवरण समाविष्ट हुन्छ । आँखाको पर्दा स्क्यान गरी त्यसको विवरण परिचयपत्रमा राखिएको हुँदा त्यो बढी भरपर्दो हुन्छ । त्यसबाहेक यो परिचयपत्रका लागि हातका सबै औँलाको बायोमेट्रिक नमुना लिइएको हुन्छ ।























