Breaking News

आर्थिक मन्दीको असर राजश्व संकलनमा पर्‍यो, चितवनमा गत वर्षभन्दा धेरै कम राजश्व संकलन

Banner

मधुसूदन दवाडी

चितवन, असार १९-

चितवनको उद्योग र व्यवसाय क्षेत्रमा देखिएको निराशाको असर राजश्व संकलनमा परेको छ ।

यस आर्थिक वर्षको मध्य असारसम्म चितवनमा राजस्व संकलन गत वर्षभन्दा धेरै कम भएपछि आर्थिक मन्दीको असर देखिएको हो ।

आन्तरिक राजश्व कार्यालय भरतपुरले गत वर्ष राजश्व संकलनको लक्ष्य भन्दा बढी १०१ प्रतिशत राजश्व संकलन गरेको थियो । यस आर्थिक वर्षको असारको १९ गतेसम्म आइपुग्दा ७२.७६ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ । यस वर्ष राजश्व संकलनको लक्ष्य भेट्न नसक्ने कार्यालयको आकलन देखिन्छ ।

आन्तरिक राजश्व कार्यालय भरतपुरका सूचना अधिकारी विष्णुबहादुर राउतले यस वर्ष आर्थिक मन्दीको असर राजश्व संकलनमा परेको बताए । उनले भने, ‘ आन्तरिक राजश्व कार्यालय भरतपुरले संकलन गर्ने राजश्वको ८० प्रतिशत राजश्व अन्तशुल्कमा आधारित छ । जसमा मुख्य बियर कम्पनीहरुले तिर्ने राजश्व पर्छ । अपेक्षितरुपमा बियर कम्पनीहरुले व्यापार गर्न नसकेको कारणले यस वर्ष लक्ष्यअनुरुप राजश्व उठ्न नसकेको हो । जसलाई आर्थिक मन्दीको असरको रुपमा लिन सकिन्छ ।’ उनले मानिसको क्रयशक्ति घट्नुको साथै घरजग्गाको कारोबार पनि सोचेजति हुन नसक्नुका कारण राजश्वमा कमी आएको विचार राखे । उनले भने, ‘ होटल, घरजग्गा व्यवसायी, बियर कम्पनीहरु सबै व्यापार नै छैन भन्छन् । मानिसले खासै बजारमा खर्च गरेका छैनन् । जसको चौतर्फी असर यस वर्ष राजश्व संकलनमा पर्‍यो ।’

आन्तरिक राजश्व कार्यालय भरतपुरको चालु आर्थिक वर्षको राजश्व उठाउने लक्ष्य २६ अर्ब २६ करोड रहेको छ तर असार १९ गतेसम्म १९ अर्ब ११ करोड राजश्व उठेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आर्थिक मन्दी र व्यवसाय क्षेत्रमा देखिएको निराशाको असर राजश्व संकलनमा परेको बताए । उनले भने, ‘ नारायणगढ बजारका दोकानहरु बन्द छन् । ठाउँठाउँमा शटर भाडामा भनेर झुण्ड्याइएको तुलहरु देख्न सकिन्छ । उद्योगहरुले पूर्ण क्षमतामा काम गर्न सकेका छैनन् । बैँकले ताकेता गरेकोले व्यवसायीहरुको ध्यान राजश्वतिर भन्दा पनि बैँकको किस्ता कसरी तिर्ने भन्ने तिर गएकोले आर्थिक मन्दीको असर राजश्वमा देखिएको हो ।’ उनले मौद्रिक संकुचन तथा नगद तरलताको कारणले देशको आर्थिक परिसूचकहरु राम्रो नभएको बताए । नयाँ आर्थिक वर्ष सुरु भएपछि आउने राष्ट्र बैँकको मौद्रिक नीतिले केही हदसम्म भए पनि उद्योगी र व्यवसायीले भोगेका समस्याको समाधान गर्ने आशा अध्यक्ष श्रेष्ठको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>