देश/प्रदेश

परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्नमा छौँ: परराष्ट्रमन्त्री

Banner

डडेल्धुरा,असार १६–

परराष्ट्रमन्त्री एनपी साउदले तरल रहेको परराष्ट्र नीतिलाई सरकारले स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन्।

उनले केही तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयत्न गरिरहेको उल्लेख गर्दै परराष्ट्र नीतिको सम्बन्धमा संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित मूल्य र मान्यताहरूलाई सम्मान गरिने बताए ।

उनले भने, ‘त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौँ, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी समेल हुँदैनौँ तर संसारमा हुने घटनामा हामी तटस्थ बस्छौं, बोल्न सक्दैनौँ हाम्रो विचार नै छैन भन्ने चाहिँ होइन।’

उनले संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रको रूपमा निष्पक्ष किसिमले हेरिरहेको बताए। परराष्ट्रमन्त्री साउदले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताए। फरक प्रसङ्गमा परराष्ट्रमन्त्री साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट पारे। बाहिर हल्ला अनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उनको दाबी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>