विचार/ब्लग

पीताम्बर शर्मा पौडेलको ‘अनुभव र अनुभूति’ कृतिको समीक्षात्मक टिप्पणी

पुस्तक समीक्षा :

Banner

रमाकान्त सापकोटा

आत्मलेखन तिनीहरुले लेख्छन् जसले सार्वजनिक जीबन बिताएका छन् ,जसले देशका महत्वपूर्ण ऐतिहासिक घटनाहरुमा भूमिका खेलेका छन् । जसले सामाजिक जीवनमा राम्रो पहिचान बनाएका छन् र समाजको प्रतिनिधित्व गर्छन् ।

बाल्यकाल सबैको हुन्छ , दुःख सुख सबैले एक न एक किसिमले भोगेकै हुन्छ । कसैको जीवनले त्यो समयको समाजशास्त्रीय अध्ययन ÷मनोसामाजिक अध्ययन गर्न कति सहयोग गर्छ भन्ने कुराले आत्मलेखनको महत्व राख्छ । सामाजिक, राजनीतिक, साहित्यिक सेवामा रहेका र अध्येताहरुले भावी पुस्तालाई बौद्धिक सम्पत्ति हस्तान्तरण गर्न यस्ता पुस्तकहरू लेख्ने गर्छन् ।

यो पुस्तकको सान्दर्भिकता

झण्डै नौ दशक लामो नेपाली समाजको स्वरूप र त्योसँग जोडिएर पीताम्बर पौडेलको जीवनका भोगाईहरु मिसिएर यो पुस्तक निस्केको छ । प्रमुख घटना विवरणहरूलाई थप प्रष्ट पार्ने गरी केही तस्विरहरू र सन्दर्भसामग्री पनि समाबेश छन् । यो कृति संस्मरण, डायरीसहित जीवनीको रुपमा छ ।

परिवार, आफन्त, समकालीन साथीभाईहरुको लागि यो कृति पारिवारिक इतिहास हो । रोचक घटनाहरूको संस्मरण हो । यसमा लेखक र सन्ततीको लागि गौरव अनुभूति हुने थुप्रै विषयहरू छन् । युगको÷ समयको अर्थ–सामाजिक अवस्थाको अध्ययन गर्नकोलागि पनि पुस्तक उपयोगी र संग्रहणीय हुनेछ ।

पुस्तकबाट झल्कने व्यक्तित्व

२०३६ सालको शैक्षिक आन्दोलनमा चितवनबाट अगुवाई गर्ने तथा आन्दोलनको महत्व बारेमा प्रचार गर्ने दर्जन बढी अगुवा मध्ये पीताम्बर शर्मा÷पौडेल एकजना महत्वपूर्ण भूमिकामा हुनुहुन्थ्यो । उहाँको साथमा खगेन्द्र संग्रौला, विष्णु घिमिरे, टेकबहादुर थापा ,घनश्याम पौडेल, देबेन्द्रप्रसाद उपाध्याय , हरिराज पौडेल, विनोदकुमार श्रेष्ठ, कृष्णराज हमाल, रामचन्द्र कोइराला, देशभक्त पण्डित, हेमचन्द्र निरौला,चेतनाथ बराललगायतका शिक्षकको भूमिका रहेको पाइन्छ । यो समीक्षक त्यति बेला पर्बतमा हेटौंडा आन्दोलनको अगुवाइ गर्ने मध्येमा रहेकोले २०३६ मा गठित अस्थायी केन्द्रीय समितिमा चितवनबाट पीताम्बर शर्मा पौडेल सचिव हुनुहुन्थ्यो भने खगेन्द्र संग्रौला उपाध्यक्ष हुनुहुन्थ्यो । २०३७ चैत १५ मा भएको पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा पनि पीताम्बर शर्मा पौडेलको निरन्तरता थियो । अहिले सम्म केन्द्रीय समितिमा नेतृत्व गर्ने उहाँ समेतको सूची यस्तो छ –खगेन्द्र संग्रौला– उपाध्यक्ष (२०३६),पिताम्बर शर्मा–सचिव (२०३६) रविकिरण निर्जिव (२०३७),घनश्याम पौडेल –सचिव (२०४०) तुलसी प्रसाद घिमिरे –सचिव (२०४७ ), मोहन मणि ढकाल–सदस्य (२०४७), हरिप्रसाद आचार्य –सदस्य (२०५०), रमाकान्त सापकोटा –महासचिव तथा ईआईएपीआर सदस्य (२०५६ ), हकिकुल्लाह खाँ –सदस्य (२०५९), लक्ष्मीकान्त चालिसे सदस्य (२०६३), सूर्यनाथ बराल सदस्य (२०७०) तथा कोषाध्यक्ष (२०७८ ) ।

उपलब्ध विवरण संकलन गरी २०५३ सालमा रमाकान्त सापकोटा नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनको अध्यक्ष रहेको बेला पहिलो पटक शिक्षक बुलेटिन अंक–१ प्रकाशित भएको थियो । सो बुलेटिन अनुसार चितवनमा पीताम्बर शर्मा पौडेलकै नेतृत्वमा तदर्थ समिति गठन भएको पाइन्छ । तदर्थ समितिको सचिव कृष्णप्रसाद दवाडी ,कोषाध्यक्ष घनश्याम पौडेल र सदस्यहरूमा महाविर पुन (सूचना प्रविधि वैज्ञानिक ) , बच्चुराम श्रेष्ठलगायत रहनु भएको पाइन्छ । शिक्षकहरूको घर खानतलासी हुँदा कागज÷ डायरी प्रहरी प्रशासनले लैजान्थ्यो जसको कारण ठोस तथ्यहरू पाउन सकिंदैनथ्यो । २०७३ सालको शिक्षक दिवसमा नेपाल राष्ट्रिय शिक्षक संगठनको सिंगो इतिहासको सार लिखित रुपमा प्रस्तुत गर्दा पिताम्बर पनि त्यही सभामा हुनुहुन्थ्यो । पछि मेरो घरमा गएर फोटोकपी गरेर लिनु भएपछि मलाइ लागेको थियो कि उहाँ केही लेख्ने सोंचमा हुनुहुन्छ । मेरो अनुमान आज सत्य सावित भएको छ । खुसी व्यक्त गर्दछु ।

विसं २०३८ सालदेखि २०४२ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठनले ‘काठमाडौँ जाऊँ सिंहदरबार घेरौं’ जस्ता उत्कर्षका आन्दोलन चलायो । यसमा ठूलो मूल्य चुकाउनु प¥यो । दर्जन बढी शिक्षकले ज्यान गुमाउनुप¥यो । ३०० जति शिक्षकले जागिर गुमाउने स्थिति आयो । यो आन्दोलनमा पनि हिरासत , जेल, यातना भोग्नेहरू मध्ये एक जना अगुवा हुनुहुन्छ पीताम्बर पौडेल । आन्दोलन निर्णायक मोडमा पुगेको बेला २०४२ सालको चर्चित बम बिस्फोट काण्डपछि आन्दोलन कमजोर भयो । विसं २०४३ मंसिरमा नेपाल राष्ट्रिय शिक्षक संगठनले वार्तामा पठाएका विमल कोइराला, कामेश्वरप्रसाद सिंह , कालीप्रसाद पोखरेल , घनश्याम पौडेल, मोहन नारायण श्रेष्ठ सहितका पाँच जना प्रतिनिधिले गरेको सम्झौता अनुसार नेपाल प्राथमिक शिक्षक संघ र नेपाल माध्यमिक शिक्षक संघ गठन हुन थाल्यो । शिक्षक आन्दोलन टुक्रियो, नेपाल राष्ट्रिय शिक्षक संगठनले भूमिगत रुपमा काम गर्ने अवस्था आयो । त्यो बेलामा पिताम्बर शर्मा पौडेल ,घनश्याम पौडेल लगायतका शिक्षक नेताहरू राजनीतिक रुपले अमिक शेरचन, रुपलाल विश्वकर्माहरूले नेतृत्व गरेको कम्युनिस्ट मोर्चामा हुनुन्थ्यो । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको पहिलो अध्यक्ष सल्यानी दण्डराज शर्मा पनि राजनीतिक रुपले पीताम्बरजीसँगै हुनुहुन्थ्यो । आँफू निकट पार्टीको नीति भित्र रहेर २०४३ माघपछि पीताम्बरजी प्राथमिक र माध्यमिक शिक्षक संघको कित्तामा उभिनु पर्ने अप्ठ्यारो स्थिति आयो । २०४६ पछि प्राथमिक र माध्यमिक शिक्षक संघको अन्त्य भएर सबै शिक्षक पुन नेपाल राष्ट्रिय शिक्षक संगठनमा फर्किने क्रममा पिताम्बर पनि आँफैले निर्माण गरेको संगठनमा फर्किनु भयो । स्मरणीय छ कि वैचारिक रुपले नेपाली कांग्रेससँग नजिक शिक्षकहरूले २०४७ मा नेपाल शिक्षक संघ गठन गरे पछि शिक्षक संगठन बलियो दुई धारमा बाँडियो ।

२०५१ मा शिक्षण पेसा छाडेर पौडेलजी पूर्णरुपले राजनीतिमा आए पछि २०५२ सालमा एमालेमा प्रवेश गर्नु भयो । नेपाल राष्ट्रिय शिक्षक संगठन, बौद्धिक मञ्च, प्रशिक्षण विभाग , मदनभण्डारी फाउण्डेसन निवृत्त शिक्षक समाजलगायतका फोरम मार्फत् समेत हाम्रो सहक्रियाशिलता रहँदै आएको छ । उहाँका खारिएका अनुभवबाट समाज जति लाभान्वित छ म पनि लाभान्वित छु । आजको यो समीक्षा पनि त्यसैको निरन्तरता हो ।

समीक्षाको सैद्धान्तिक पक्ष

कुनै सिर्जनामाथि पाठकीय दृष्टिकोण वा समालोचनात्मक दृष्टिकोण समीक्षा हो । कृति–समीक्षा, कृति–सर्वेक्षण, पुस्तक–प्रतिवेदन, पुस्तक–परिचर्चा, पुस्तक–विमर्शलगायतको रुपमा समीक्षाको अभ्यास हुँदै आएको छ । पुस्तकको बाह्य स्वरूपको चिनारी ,आन्तरिक विषयको परिचयात्मक जानकारी, पुस्तकको शक्ति र सीमा समीक्षाका मूल विषय हुन् । स्रष्टाचेतना भएको समीक्षकले भाषिक कला र आलंकारिक अभिव्यक्तिमा ध्यान केन्द्रित गरेको हुन्छ भने द्रष्टाचेतना भएको समीक्षकले तथ्यपरक विश्लेषण र यथार्थपरक अभिव्यक्ति र त्यसको सन्देशको समीक्षा गर्छ ।

पीताम्बरको कृतिको प्रारम्भिक परिचय

ममतामयी माता स्व.बसुन्धरा पौडेल र पूजनीय पिता स्व.दुर्गादत्त पौडेल प्रति सादर समर्पण गरिएको यो कृति पीता शिक्षा गुठी भरतपुर महानगरपालिका–१४ पकौडी चितवनले प्रकाशन गरेको छ । नारायणप्रसाद सापकोटाले सम्पादन गर्नुभएको छ । लमजुङ छापाखानामा मुन्द्रण भएको बाह्य पृष्ठ २, अग्रभाग १० पृष्ठ , मुख्यभाग १६६ पृष्ठ गरी जम्मा १७८ पृष्ठ भएको यो पुस्तकको मूल्य व्यक्तिगत २०० रुपैयाँ र संस्थागत मूल्य ५०० रुपैयाँ छ । आवरण÷लेआउट प्रकाश कुमालले गरेको यो कृतिको सर्वाधिकार÷कपिराइट लेखकमा सुरक्षित छ ।
भूमिका लेखन ÷प्रकाशन पूर्वको ÷पाण्डुलिपि समीक्षा डा.धनेश्वर भट्टराईले लेख्नुभएको छ । पहिले कुरा भए अनुसार सहमति वचन लेख्ने सोंच राख्नु भएका डा.धनेश्वरले नारायणप्रसाद सापकोटा मार्फत् पाण्डुलिपि प्राप्त हुँदा लेखकको अपेक्षा भूमिकासँग जोडिएकोले यो भूमिका लेखिएको रहेछ । ८७ औं बसन्त पूरा गर्दै रहेका व्यक्तिको जीवनको आडमा उभिएर नेपालको सामाजिक ,भौगोलिक ,आर्थिक र शैक्षिक विकासको प्रवक्ताको रुपमा यो पुस्तकलाई चित्रित गरिएको छ । व्यक्तिको जीवन परिवार,समाज ,प्रकृति , राष्ट्र र आफू बसेको भूगोलको परिधिभित्रका विविध पक्षसँग गाँसिएको हुन्छ । त्यसैले पीताम्बर जस्ता शैक्षिक एवम् सामाजिक व्यक्तित्वका अनुभव र अनुभूति समाजशास्त्रीय अध्ययनको दृष्टिले भावी पुस्ताकोलागि पठनीय र संग्रहणीय छ भन्ने डा.धनेश्वर भट्टराईको ठहर छ ।

१५ वर्षको उमेरमा २००८ सालमा आधारभूत तहको औपचारिक शिक्षा सुरु गरेका पौडेलले प्यारो सल्यान किन छोड्नु परेको थियो ? स्वर्गद्वारी पढ्न हिंडेका पौडेललाई गोरखपुर र बनारससम्म कुन कुराले धकेल्यो जस्ता प्रश्न उठाएर डा.धनेश्वरले पाठकलाई पढ्न उत्सुक बनाउनु भएको छ । जीवनको सिकाइ शीर्षकमा पौडेलले आफ्नो जीवन गर्व गर्न लायक भनी अनुभूति गरेकोमा डा.धनेश्वरको जस्तै मेरो पनि सगौरव सहमति रहेको छ ।

लेखकीयबाट प्राप्त सन्देश

गाउँदेखि वनारससम्म पुग्दा क्रान्तिकारी भावनाबाट प्रभावित पिताम्बर पौडेलले जीवनलाई संघर्ष र सेवाको रुपमा अ¥थ्याउनुभएको छ । जनतासँग जोडिन खुसी राजीले शिक्षक हुनुभएको रहेछ । धुलौटो कोर्दै पढ्न सुरु गरेका पौडेलले प्रविधिमय युगसम्म आइपुग्दा भोगेका उतार चढाव र संगालेका तिता मीठा अनुभव लेख्न डा.सूर्यराज आचार्यले प्रेरित गर्नुभएको रहेछ । पौडेलका अनुसार उमेरसँगै धमिलिँदै गएका अनुभव र अनुभूतिलाई यो कृतिको रुपमा आउन उहाँको परिवार, भतिज शिवकुमार पौडेल, सम्पादक नारायणप्रसाद सापकोटा , समालोचक डा.धनेश्वर भट्टराई लगायतको महत्वपूर्ण योगदान रहेको उल्लेख छ ।

कृतिको विषयसूची र अन्तरवस्तुहरू

विषय सूचीमा रहेका जम्मा ९३ शीर्षकलाई चार खण्डमा विभाजन गरिएको छ । बाल्यकाल र शिक्षा आर्जन शीर्षकको पहिलो खण्डमा १९९३ असार १३ गते शुक्रबार भएको जन्मदेखि वनारस अध्ययन गर्दा सम्मका २३ वटा विषय समावेश छन् । २००८ सालमा १५ वर्षको उमेरमा स्याङ्जा दोरंगाकी ११ वर्षीय कन्या जमुना देबी नेपालसँग पहिलो विवाह भएको ,२०२० सालमा स्याङ्गजा जैशीडाँडाकी १३ वर्षीय होमादेवी अर्यालसँग दोस्रो विवाह भएको एक छोरा र एक छोरी छाडेर पहिलो श्रीमतीको ३१ वर्षे उमेरमा दुःखद निधन भएकालगायत आर्थिक अभावका कारुणिक कथा व्यथा पनि समावेश छन् । तीन छोराबुहारी, तीन छोरी ज्वाइँ, ९ नाती नातिना र एक पनातिको अभिभावक रहेको विवरण उल्लेख छ । लालबहादुर पुलिसको भेषमा रेलको डब्बामा बसेर भाडा नतिर्ने जुक्ति निकालेका जस्ता रोचक घटनाहरू पनि बीच बीचमा पढ्न पाइन्छ । दोस्रो खण्ड शैक्षिक, राजनीतिक र सामाजिक कार्यअन्तर्गत २०२१ सालमा सल्यानमा प्रगतिशील मिडिल स्कूल बनाउने अभियान ,पटक पटकको पहिरोले लखेटे पछि सल्यानबाट चितवन झर्ने क्रम चलेको ,२०२३ आश्विन १४ देखि चितवनको क्षीताविक्रम मिडिल स्कुल धनौजीमा मासिक १५० तलब पाउने गरी पढाउन थालेको , मदनमोहन जोशी मार्फत् पुष्पलाल समूहसँग जोडिएकोलगायत दक्षिण एसियाली किसान सम्मेलनमा सहभागिता सम्मका ५४ विषय समावेश छन् । शैक्षिक आन्दोलनको क्रममा डीएसपी खोरदेखि कारागारसम्मका कथा व्यथा पनि यसै खण्डमा छन् । तेस्रो खण्ड अविष्मरणीय भ्रमण अन्तर्गत १४ वटा शीर्षकमा तीर्थस्थलदेखि अमेरिका, क्यानडासम्मका भ्रमण तथा क्यान्सरको निदान र उपचार अनि सन्चो भएको जस्ता विषय समावेश छन् । चौथो परिशिष्ठ अन्तर्गत पीता शिक्षा गुठीको सामान्य परिचय तथा तस्विरहरू गरी दुईवटा शीर्षक समावेश छन् । विसं २०७९ भदौ १५ गते मालपोत कार्यालय चितवनमा दर्ता भएको पीता गुठीका अध्यक्ष पीताम्बर पौडेल आँफै हुनुहुन्छ । आर्थिक अभावका कारणले विद्यालय छाड्नुपर्ने अवस्थाका विद्यार्थीलाई कोषको ब्याजबाट सहयोग गर्ने उद्देश्यले परिवारको सल्लाह लिएर १६ लाख रुपैयाँ को अक्षयकोष खडा गरेको कुरा यो खण्डमा उल्लेख छ ।

राजनीतिक जीवन

पीताम्बर शर्मा पौडेल बनारस पढ्ने क्रममा घर आउने जाने गर्दा गोरखपुरमा एकदेव आलेसँग भेट हुन्थ्यो । एकदेवबाटै कम्युनिस्ट पार्टीको सदस्यता लिएको र पछि पुष्पलाल , तुलसीलाल, पुण्यप्रताप राणा, मोदनाथ प्रश्रित, हिक्मत भण्डारीलगायतसँग चिनजान बढेको पाइन्छ । चितवनमा मदन मोहन जोशीसँग सम्पर्कमा रहेर पार्टीको काममा लागेको , २०५१ मा शिक्षकबाट राजीनामा दिएर मध्यावधि निर्वाचनमा संयुक्त जनमोर्चाको उमेदवार भएर नवलपरासीबाट चुनाव लडेको ,२०५२ पछि नेकपा एमालेको नीति कार्यक्रम मन परेर एक हजार भन्दा बढी नेता कार्यकर्तासहित एमालेमा प्रवेश गरी हालसम्म विभिन्न जिम्मेवारीमा क्रियाशिल रहेको पाइन्छ ।

केही ठाउँमा विषयवस्तु दोहोरिनुलाई उमेर र परिस्थिति जन्य समस्या लिन सकिन्छ । एक दुई पृष्ठको वैयक्तिक , शैक्षिक, पेसागत तथा सामाजिक विवरण अन्तिम तिर होला भनेर खोजेको थिएँ तर रहेनछ । प्रकाशक सम्पादकको ध्यान पुगेको भए पनि अरू राम्रो हुन्थ्यो । शिक्षक आन्दोलनमा उहाँको संलग्नता बारेमा मैले जे जति चर्चा गरेँ त्यो उहाँ आँफैले लेख्न छुटाउनु भएको देखिन्छ ।

जेठो छोरा प्रकाश तथा जेठी छोरी निर्मलाको परिवार चितवनमा, माइलो छोरा, कान्छो छोरा र कान्छी छोरीको परिवार क्रमशः काठमाडाँै अमेरिका र स्पेनमा रहेको विवरण सहित वंश वृक्ष पनि पुस्तकमा समावेश छ । आफू भन्दा १४ वर्ष कम उमेरकी जीवनसंगिनी होमासँग गौरव पूर्ण र सुखद जीवन बिताइरहनु भएका शिक्षा र सामाजिक क्षेत्रका अग्रज पीताम्बर शर्मा पौडेल तथा उहाँको परिवारको भावी जीवन सुखद र क्रियाशील रहोस भन्ने शुभकामना अर्पण गर्दछु ।

२०८० असार १३ ,भरतपुर

( चितवनका समालोचक सापकोटा शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार तथा शिक्षाविद हुन् । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>