देश/प्रदेश
जबरजस्ती नाबालिकालाई यौन व्यवसायमा लगाउने दुई प्रकाउ

काठमाडौं, वैशाख २१-
नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । नाबालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोले खाजा घरका दुई जना सञ्चालकलाईपक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए।
टोखामा सुर्खेत खाजाघर सञ्चालन गर्दै आएका दार्चुला घर भई काठमाडौंको टोखा नगरपालिका-९ दिपज्योती मार्गमा बस्ने २९ वर्षीय लोकेन्द्र बडु र सर्लाही घर भई सोही ठाउँमा बस्ने ३७ वर्षीया कान्छीमाया घिसिङ प्रकाउ परेका हुन् ।
नाबालिकाहरूलाई सुरूमा उनीहरूले वेटरको काम लगाएपछि विभिन्न किसिमको डर र प्रलोभन समेतमा पारी यौन व्यवसायमा लगाउने गरेको अनुसन्धानबाट खुलेको मिश्रले बताए ।
पीडितको जाहेरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ। यस घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

























