देश/प्रदेश
उदयपुरको कटारीमा ब्रेक फेल हुँदा बोलेरो दुर्घटना, १५ जना घाइते

उदयपुर ,कात्तिक ९ –
उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिपको ब्रेक फेल भएपछि सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक कटारी नगरपालिका–११ का २९ वर्षीय निर्पबहादुर खड्कासहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये झापाको बिर्तामोड नगरपालिका–६ की ३७ वर्षीया मेनुका मगर भुजेल र उनका १४ वर्षीय छोरा रेहान तथा सात वर्षीया छोरी प्रिन्सिका छन्।
त्यस्तै, कटारी नगरपालिका–२ का ७१ वर्षीय रामबहादुर मगर, उनकी ३५ वर्षीया छोरी लिसना मगर, ६० वर्षीया गोमा श्रेष्ठ, कटारी–५ की ३९ वर्षीया अम्बिका दाहाल र उनका १० वर्षीय छोरा दिक्षित दाहाल घाइते भएका छन्।
दुर्घटनामा कटारी–११ की २१ वर्षीया निर्मला राउत, २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु, महोत्तरीको गौशाला नगरपालिका–१ की ३५ वर्षीया कविता रेग्मी तथा सिन्धुलीको दुधौली नगरपालिका–११ का १० वर्षीय प्रदीप पौडेल पनि घाइते भएका छन्। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ की १६ वर्षीया तेन्जु लामा पनि दुर्घटनामा घाइते भएकी छन्।
घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
चालक खड्का सामान्य घाइते भएका छन्। उपचारपछि उनलाई नियन्त्रणमा लिइएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।























