देश/प्रदेश
काठमाडौंमा अफिस जान्छु भनेर हिँडेका राहदानी विभागका सुब्बा पोखरामा मृत फेला

पोखरा, वैशाख २५-
परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत नासु पोखरामा मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार विराटनगर राजवंशी चोकका ३१ वर्षीय अनुप भण्डारी आज बिहान बेगनास तालमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।
बेगनास तालको डुंगा घाटभन्दा ४ः५ सय मिटर पर तालमा मृत भेटिएका भण्डारीको झोलामा मोबाइल सहित १०/१२ हजार पैसा, औषधि, चप्पल र छाता रहेको प्रहरीको भनाइ छ ।
भण्डारी आइतबार बिहान १० बजे अफिस जान भनेर हिँडेका थिए । काठमाडौं काँडाघारीमा डेरामा बस्दै आएका उनी बिहान साढे ९ बजे अफिसका लागि निस्किएको र दिउँसो २ बजे आफू पोखरा घुम्न आएकोले कोठा राम्ररी बन्द गर्दिनू भनेर घरबेटीलाई फोन गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनी दिउँसो १ बजेको सौर्य एयरको फ्लाइटमा काठमाडौंबाट पोखरा आएका थिए । हाल शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइएको इप्रका डाँडाकोनाकले जनाएको छ ।

























