समाचार

निर्मला हत्या प्रकरणः डीएनए परीक्षण गर्न थप ३ जनाको नमुना संकलन

Banner

काठमाडौँ, वैशाख २३–

रवि लामिछानेले उप–प्रधान एवं गृहमन्त्री नियुक्त भएसँगै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए ।

लामिछानेको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन २०७९ पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । समितिले डीएनए परीक्षण गर्न ५ जना शंकितको नमुना संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । तर, ती सबैको डीएनए परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिक सहित ५ जनाको रगतको स्याम्पल संकलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो । गृह मन्त्रालयबाट रविको बहिर्गमनसँगै सो समिति निष्क्रिय भएको छ ।

समिति सक्रिय नभएपनि केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्या अनुसन्धान जारी राखेका छन् । निर्मला हत्याको अनुसन्धान पुरा गर्न प्रहरी प्रधान कार्यालयले २०७९ माघमा प्रहरी उपरीक्षक कमल थापालाई कञ्चनपुरमा सरुवा गरेको थियो । कञ्चनपुर इन्चार्ज थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोले सघाइरहेको छ ।

पछिल्लो समय प्रहरीले निर्मलाको हत्यामा संलग्न आशंकामा थप ३ जनाको रगतको नमुना संकलन गरेको छ । कञ्चनपुरका एसपी कमल थापा भन्छन्,‘विधिविज्ञान प्रयोगशालाबाट संकलित नमुनाको रिपोर्ट आएको छैन ।’

अनुसन्धान अधिकृतहरु पछिल्लो रिपोर्ट कुरिरहेका छन् । निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भयो । १३ वर्षिया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १२३ जनाको डीएनए जाँच गरेको छ । तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ ।

आरोपी पहिचान नहुँदासम्म अनुसन्धान जारी राख्ने एसपी थापाले बताए । उनी भन्छन्–‘भजाइनल स्वाबसँग डीएनए मिल्नुको विकल्प छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>