चितवन विशेष

वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्यांक संकलन गर्दै भरतपुर महानगर

Banner

चितवन, वैशाख १४

भरतपुर महानगरपालिकाले वैशाख १६ गतेबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको विवरण संकलन गर्ने भएको छ ।

कामको सिलसिलामा विभिन्न मुलुकमा गएका भरतपुर भित्रका व्यक्तिहरुको सही दस्तावेज निर्माण गर्न विवरण संकलन गर्न लागिएको भरतपुर महानगरपालिकाले जनाएको हो ।

महानगरका २९ वटै वडामा गएर गणकहरुले वैदेशिक रोजगारीमा गएका घरपरिवारका सदस्यसँग यथार्थ विवरण संकलन गर्ने छन् । त्यसका लागि आज भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारसम्बन्धी तथ्यांक संकलन, अभिलेखीकरण तथा पाश्वचित्र निर्माण गर्न गणकहरुलाई दुई दिने अभिमुखीकरण कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलले भरतपुर महानगरपालिकाका प्रत्येक वडाबाट एक एक जना गणकहरुलाई प्रशिक्षण दिएर सम्बन्धित वडामा खटाइने बताइन् । यो कार्य महानगरको एक महत्वपूर्ण कार्य हो पौडेलले भनिन्, ‘महानगरले अब वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको दस्तावेज निर्माण गर्ने छ ।’ गणकहरुले आगामी असार १५ भित्रमा तथ्यांक सकलन गरेर महानगरपालिकामा बुझाइ सक्नुपर्ने पौडेलको भनाइ छ ।

वडामा जाने गणकहरुले वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको घर घरमा गएर उनीहरुको पारिवारिक विवरणका साथै लिंग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधि, बुझेर गए नगएको, सीप सिके नसिकेको, मान्यता प्राप्त म्यानपावरबाट गए नगएको, वैदेशिक रोजगारीबाट फर्कनुको कारण, फर्केर आएपछि ब्यापार ब्यबसाय गरे नगरेको जस्ता थुप्रै विवरणहरु अध्याबधिक गर्ने छन् ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका उपमेयर चित्रसेन अधिकारीले महानगरपालिकाले एक महत्वपूर्ण दस्तावेज निर्माण गर्न लागेको प्रष्ट पारे । यो दस्तावेज निर्माण भएपछि वैदेशिक रोजगारीमा गएकाहरुको यकिन तथ्यांक आउने र फर्केर आएकाहरुले महानगरपालिकाबाट कस्तो अपेक्षा गरेका छन् भन्ने कुराको प्रष्ट खाका तयार बनाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>