तनहुँ
कम मत आउँछ भनेर सोचेका ठाउँमा पनि राम्रो मत आइरहेको छः स्वर्णिम वाग्ले

काठमाडौं, वैशाख ११-
तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ। अहिलेसम्म गणना गरिएको मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित अगाडि छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले पछ्याइरहेका छन्।
उम्मेदवार स्वर्णिम वाग्लेले आफूहरूले सोचेकोभन्दा राम्रो मत आइरहेको प्रतिक्रिया दिएका छन्। आज सञ्चारकर्मीसँग कुराकानी गर्दै वाग्लेले कम मत आउँछ भनेर सोचेका ठाउँमा पनि राम्रो मत आइरहेको बताए।
‘कम मत आउँछ भनेर सोचेका वडामा पनि हामीलाई राम्रो मत आइरहेको छ,’ वाग्लेले भने, ‘भानु नगरपालिका वडा नम्बर ७ र ८ मा भने सोचेअनुसार हामीलाई मत आएन।’
उनले वडाअनुसार मत विश्लेषण गर्न बाँकी नै रहेको बताए।
‘आँबुखैरेनी गाउँपालिकामा राम्रो मत आउँछ भन्ने हामीलाई थाहा थियो,’ उनले भने, ‘आँबुखैरेनी क्षेत्रमा राम्रो मत आएको छ। यत्रो मतान्तर होला भन्ने मैले सोचेको थिइनँ।’ ब्यास नगरपालिकाका वडाहरूलगायतमा पनि आफूहरूलाई राम्रो मत आउने उनले बताए।
अहिलेसम्म १३ वडाको १८ हजार ६ सय ६१ मत गणना गर्दा वाग्लेले १० हजार २ सय ५९ मत पाएका छन्।
कांग्रेसका भट्टराईले ५ हजार ३ मत र एमालेका खनालले २ हजार ७ सय ९७ मत ल्याएका छन्। तनहुँ १ मा ४२ वडा छ। अब २९ वडाको मतपरिणाम आउन बाँकी छ। मतगणना जारी छ।
























