Breaking News
भरतपुरमा झडपको अवस्था आएपछि रवि लामिछानेको टिप्पणी: म अन्य मतदान केन्द्रमा जाने अवस्था छैन

चितवन, वैशाख १०-
चितवन–२ मा आज भइरहेको उपनिर्वाचनमा एक केन्द्रको मतदान केही समय स्थगित भएको छ ।
भरतपुर–११ को नयाँ किरण माविमा मतदान स्थगित भएको हो ।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए ।
लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गरेका थिए । सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो । रास्वपाले उक्त धकेलाधकेलमा आफ्ना केन्द्रीय सदस्य दीपक बोहोराको मोबाइल फुटाइएको बताएको छ । उनी भिडिओ खिचिरहेका थिए ।
धकेलाधकेल भएपछि फेसबुक लाइभमा आएर रास्वपाका सभापतिसमेत रहेका लामिछाने आफू त्यहाँ पुग्दा समर्थकले सामान्य रूपमा स्वागत गरेको बताए । मंसिरको चुनाव आफू मतदान केन्द्रमा पुग्दा योभन्दा ठूलो स्वागत भएको उनले बताएका छन् ।
‘म पुग्दा त्यहाँ हाईहाई भन्ने हुटिङ गर्ने सामान्य कुरा गरेका थिए तर त्यसपछि अरू दलका कार्यकर्ताले हामीमाथि धकेलाधकेल गरे,’ लामिछानेले भने,‘म अहिले अरू मतदान केन्द्रमा जाने अवस्था छैन।’ उनले मतदानलाई शान्तिपूर्ण तरिका सम्पन्न गर्न अरू दलका कार्यकर्तालाई आग्रह गरेका छन्।
























