Breaking News
चितवनमा कोरोना संक्रमण बढेपछि कारागारमा उच्च सर्तकता

निरुता विक
चितवन, चैत ३०-
कोरोनाको संक्रमण बढ्दै गएपछि चितवन कारागारमा उच्च सर्तकता अपनाइएको छ ।
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको कारागारमा कोरोनाको जोखिम बढेसँगै उच्च सतर्कता अपनाइएको हो । स्वास्थ्य कार्यालय चितवनको बुधबारको तथ्यांक हेर्दा चितवनमा ९ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ६ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये सबै भन्दा धेरै भरतपुरका पाँच जना रहेका छन् ।
जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा कैदीबन्दीमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले उच्च सावधानी अपनाइएको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए । आचार्यले पछिल्लो समय जिल्लामा कोरोना संक्रमण फैलिएपछि कारागारमा उच्चसतकर्ता अपनाइएको बताए । उनले भने, ‘अहिले कोरोनाको प्रारम्भिक चरण हो, हामीले कैदीबन्दीलाई अनिवार्य सेनिटाइजरको प्रयोग गर्न भनेका छौ ।’ कारागारमा रहेका कैदीबन्दीलाई उच्च सतकर्ता अपनाउन अनुरोध गरेको उनले जानकारी दिए । उनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट हुँदा पनि उच्च सतकर्ता अपनाएको बताए ।
कार्यालयका सूचना अधिकारी चेतनाथ ढुंगानाले भने, ‘कैदीबन्दीका आफन्त भेट्न आउँदा गेटमा नै सेनिटाइजर र माक्स अनिवार्य गरेको छ, भित्र ल्याउने सामानमासमेत सेनिटाइज गरेर मात्र राखिने गरिएको छ ।’ कैदीबन्दीलाई हस्पिटल, अदालत लैजादा अनिवार्य स्यानेटाइजर, माक्सको प्रयोग गर्ने गरेको उनले बताए । कारागारमा धेरै कैदीबन्दी भएकाले संक्रमण छिरेमा नियन्त्रणमा कठिनाइ हुने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको सूचना अधिकारी ढुंगानाको भनाइ छ ।
अहिलेको भेरियन्ट निकै छिटो फैलने भएकोले स्वास्थ्य सावधानी र सर्तकता अपनाउन चिकित्सकले अनुरोध गरेका छन् । भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा.प्रमोद पौडेलले २ दर्जन देशमा कोरोना संक्रमण बढेसँगै चितवनमा पनि कोरोना संक्रमण बढेको बताए । डा.पौडेलले कोरोना संक्रमण फैलिदै गएकोले कारागारमा उच्च सतकर्ता अपनाउन समेत अनुरोध गरेका छन् । उनले कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी रहेको हुनाले उच्च सतकर्ता अपनाउन अनुरोध गरेका हुन् । उनले माक्स लगाउन, सेनिटाइजरको प्रयोग गर्न, भीडभाड कमगर्न आग्रह गरेका छन् । उनले भने, ‘बाहिरबाट आउने व्यक्तिलाई कारागारभित्र प्रवेश गर्न दिनु हुँदैन, एक व्यक्तिबाट सजिलै अर्को व्यक्तिमा सर्नेहुँदा भौतिक दूरी कायम राख्नुपर्दछ ।’ उनले अहिले ओमिक्रोनको नयाँ भेरियन्ट देखिएको बताए । यो प्रजाति एक्सडीडी १.१६ हो । यसको फैलने सम्भावना बढी हुन्छ । तसर्थ स्वास्थ्य सतर्कतामा सबैले ध्यान दिनुपर्नेमा डा पौडेलको आग्रह छ ।
अहिले कारागारमा ७७७ जना कैदीबन्दी रहेका छन् । तीमध्ये पुरुष ७२९ र महिला ४८ जना छन् । चार जना आश्रित बालबालिका रहेको कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । कारागारमा नियमित औषधि सेवन गर्ने कैदीबन्दी पनि रहेका छन् । जसमा उक्त रक्तचापका ७०, मधुमेहका ३५, थाइराइड, पाइल्स, युरिक एसिड, मानसिक रोगीलगायत ३८ जना रहेका छन् ।
























