पत्रपत्रिका

नारायणगढ–मुग्लिन सडक : पहिरोको जोखिम उच्च

Banner

चितवन, चैत २५–

सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडकका भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको बिज्ञको निष्कर्ष छ।

भूगर्भविद डा रञ्जनकुमार दाहालले सडकका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत रहेको बताउँछन् । ‘अहिले सडक बिस्तार र सडकको भित्ता काट्न निर्माण गरिएको गाइडलाइन (मार्गनिर्देशन) नै गलत छ। हामी पहिला पहाडको चट्टान काट्छौं। अनि तल सामान्य टोवाल लगाएर माथि त्यतै छाड्छौं। अनि त पानी पर्ने बित्तिकै त्यो पहिरोका रूपमा सडकमा झर्ने नै भयो ’,लामो समयदेखि सडकसँगका पहिरो अध्ययन अनुसन्धानमा जुटेका डा दाहालले भने ।

विश्व बैंकको सहयोगमा सन् २०१४ को अप्रिलमा सम्झौता भई तीन अर्ब ६ करोड रुपियाँ लागतमा चार वर्ष लगाएर ३६ किलोमिटर नारायणगढ–मुग्लिन सडक विस्तार गरिएको हो । एसियाली मापदण्डबमोजिम दुई लेनको सडक बनाउने योजनाअनुसार यो सडकको निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणका क्रममा पहाड काटिएको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिमबारे भारतीय कम्पनी इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट एन्ड टेक्नोक्रेट (आईसीटी)ले अध्ययन गरी प्राविधिक सुझाव पनि दिएको थियो ।

आईसीटीको बिज्ञ टोलीले सडकको ३१ स्थानमा पहिरो जोखिम क्षेत्र पहिचान गरेर नियन्त्रणका लागि नारायणगढ–मुग्लिन सडक आयोजनालाई सुझाव दिएको थियो। सोही प्राविधिक सुझावका आधारमा आयोजनाले थप १४ करोड रुपियाँ खर्च गरी पहिरो नियन्त्रणको काम पनि ग¥यो तर पहिरो रोकिएन। सडकको २० किलो, १४ किलो, पाँचकिलो, चार किलोलगायत एक दर्जन ठाउँमा अहिले पनि सामान्य वर्षात हुँदा पहिरोको समस्या भइरहन्छ । प्राविधिकहरु अध्ययन टोलीको राय सुझावभन्दा पनि बाहिरबाट पहिरो झरेर समस्या दिएको बताउँछन् ।

यो वर्ष जोखिम बढी

यो वर्ष पहिरोले अझ बढी दुःख दिने बिज्ञको अनुमान छ। यो सडकमा अहिले केही पुल तयार भएका छन् भने केही निर्माण भइरहेका छन्। चिसेन्जी, तुइन, काली, सिमलताल र नाम्चे खोलामा पुल निर्माण गर्दा भित्ता काटिएकाले पहिरोको जोखिम बढेको हो।

विश्व बैंकको एक अर्ब २७ करोड पाँच लाख रुपियाँ सहयोगमा २०७६ चैत १० गते ठेक्का सम्झौता भई बन्न सुरु भएका १९ पुलमध्ये १५ बटा पुल अहिले निर्माण भइरहेका छन्। योमध्ये ११ बटा पुलको निर्माण सम्पन्न भएकाले हस्तान्तरणको तयारीमा छन्। १८ किलो र केराबारीमा बढी समस्या हुने देखिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्य बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>