चितवन विशेष
चितवन उपनिर्वाचनका लागि पर्सी बिहीबारदेखि आचारसंहिता लागू हुने

चितवन, चैत २१-
वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनका लागि यही चैत २३ गते बिहीबारदेखि आचारसंहिता लागू हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार बिहीबारदेखि आचारसंहिता लागू गर्ने तयारी छ । आयोगको पदाधिकारी बैठकबाट निर्णय भएपछि तोकिएका क्षेत्रमा आचारसंहिता लागू हुनेछ । चितवन–२ सँगै तनहुँ १ र बारा २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता भएको थियो ।
चितवनमा २४ जनाको उम्मेदवारीसहित तीनै क्षेत्रमा गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा पनि १२ जना स्वतन्त्रले उम्मेदवारी दर्ता गरेका छन्। तनहुँमा भने स्वतन्त्र उम्मेदवारी परेको छैन ।
यही चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आयोगका अनुसार सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्हसमेत दिइनेछ । गत मंसिर ४ को चुनावमा तनहुँ १ बाट तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र बारा २ बाट तत्कालीन जसपा नेता रामसहायप्रसाद यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
पौडेल गत फागुन २५ मा राष्ट्रपति र यादव चैत ३ मा उपराष्ट्रपति बनेका थिए भने लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले उनको पद बदर गरिएको थियो । वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म यी तीन क्षेत्रमा मतदान हुनेछ ।
























