चितवन विशेष

माडीमा गोद्धक मेला सुरु, भक्तजनहरुको घुइँचो

Banner

चितवन, चैत १३-

धार्मिक एवम् पुरातापुरातात्विक महत्व बोकेको  चितवनको माडी नगरपालिका–१ मा रहेको गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवम् गोद्धक मेला सुरु भएको छ ।

चैत १७ गतेसम्म ५ दिनसम्म यज्ञ सञ्चालन हुनेछ । मेलामा गुरु चैतन्यकृष्णले राम कथा वाचन गरेका छन् । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

मेला उद्घाटन गर्दे माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतोले धार्मिक, ऐतिहासिक, पौराणिक, पुरातात्विकलगायत विभिन्न पक्षको महत्व बोकेको यस क्षेत्रको विकासका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताइन् ।

गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिंह गुरुङले मेला एवम् यज्ञको अवलोकन गरी सहयोग गरी यहाँ रहेका धार्मिक क्षेत्रको दर्शन गरी पुण्य लाभ प्राप्त गर्न आग्रह गरे । यहाँ रहेका चार धामको अवलोकन गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्य रहेको गोद्धक क्षेत्र विकास संस्थाका सचिव गंगा भुसालले बताए । गोद्धक क्षेत्र विकास संस्थाका सदस्य रामजी सापकोटाले स्वागत मन्तव्य राख्दै गोद्धक क्षेत्रमा पहिलो पटक भव्य रुपमा मेला एवम् यज्ञ भएको बताए ।

गोद्धक राम चरित्र कथा यज्ञ सञ्चालन मुल समितिका संयोजक भरतप्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतो, माडी–१ का वडा अध्यक्ष अमितकुमार लामा, २ का वडा अध्यक्ष डण्डपाणि पौडेललगायतको उपस्थिति रहेको थियो । उद्घाटन पूर्वयज्ञमा कलश यात्रा निकालिएको थियो ।

गोद्धक क्षेत्रका बारेमा महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् । यहाँ नेपालका विभिन्न जिल्ला तथा भारतदेखि पनि दर्शनार्थी आउने गर्छन् । यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवम् धार्मिक महत्व बोकेका क्षेत्र गोद्धक क्षेत्रमा प्रशस्तै छन् । मरोट क्षेत्र नजिकैको चौरमा मेला लाग्ने गर्छ । गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ । प्राचिन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आÇनै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड) मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार कुण्ड अवलोकन गर्न र विशेष पर्वहरुमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । ठूलो धार्मिक महत्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>