गण्डकी
नवलपुरको अरुणखोलामा महेन्द्र राजमार्ग फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र

नवलपुर, चैत ७-
नवलपुर (पूर्वी नवलपरासी) को अरुणखोला नजिक फेरि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ ।
प्रहरी चौकी चोरमाराका अनुसार चोरमाराबाट पश्चिम अरुणखोला नजिकको गंडारखोला भन्ने स्थानमा दुईवटा मालबहाक ट्रक बिग्रिएर फसेपछि मंगलबार दिउँसो २ बजेबाट फेरि राजमार्ग अवरुद्ध भएको हो ।
चोरमारा र अरुणखोलाको बीचमा रहेको गंडारखोलामा ट्रकको पट्टा खसेर गाडी फस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । राजमार्ग फराकिलो बनाइँदा निर्माण गरिएको डाइभर्सनमा रातोमाटोको हिलोमा गाडी फसेको हो । दुवै ट्रकको क्राउन भाचिएर फसेपछि पूर्व–पश्चिम हिँडेका गाडी अरुणखोला र चोरमारा बीचको जंगलमा रोकिएका छन् ।
सोमबार राति साढे १० बजेबाट चोरमारा कावासोती बीचको ४० किलोमिटर भन्ने स्थानमा जाममा परेका गाडी झ्यालबास र कोल्हुवा हुँदै वारपार गराइएको थियो । दुवै भित्रि सडकबाट निस्केका गाडी फेरि राजमार्गमै निस्कन्छ । राजमार्ग हुँदै पूर्व–पश्चिम हिँडेका गाडी फेरि अरुणखोला नजिक जाममा पर्दा सयौं यात्रु अलपत्र परेका छन् ।