Breaking News
भरतपुरकी मेयर दाहालले भनिन्: संसदमा जनप्रतिनिधिबाटै परिवर्तनको विरुद्ध नारा घन्कियो

प्रतिमा कुमाल
चितवन, फागुन १५ –
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जनताबाट चुनिएर गएकाहरुले परिवर्तको विरुद्धमा नारा घन्काएको बताएकी छन् ।
४१औं मगर एकता दिवसको अवसरमा नारायणगढको नारायणी नदी किनारमा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
मेयर दाहालले भनिन्, ‘ हामीलाई थिचोमिचो गर्ने वर्गले परिवर्तको विरुद्धमा विभिन्न विष बमनहरु प्रयोग गरिरहेका छन् । आज संसदमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको विरुद्ध जननिर्वाचित प्रतिनिधिहरुको थलो सम्मानित संसदमा हाम्रा उपलब्धिका विरुद्ध नाराहरु घन्किरहेका छन् ।’
हिजो थिचोमिचोमा परेका वर्ग अझ जिम्मेवार र संगठित भएर अगाडि बढ्न जरुरी रहेकोमा मेयर दाहालले जोड दिइन् । ‘हामीले प्राप्त गरेको राम्रो उपलब्धिको रक्षा गरेर थप अधिकारको लागि फेरि पनि संगठित भएर हामी अगाडि बढ्न आवश्यक छ’, उनले भनिन् ।
देशको हरेक परिवर्तनमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको दाहालले स्मरण गरिन् । पहिलो सहिद लखन थापा मगरको योगदानलाई स्मरण गर्दै उनले भनिन् , ‘राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्रको विरुद्ध भएका आन्दोलनदेखि अन्य थुप्रै आन्दोलनमा यो समुदायको महत्वपूर्ण भूमिका छ । राज्यको हरेक परिर्वनमा यो समुदायको अतुलनीय योगदान रहेको छ । जसका कारण आज व्यवस्था परिवर्तन भएको छ । देशमा बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय, संघीय लोकतान्त्रिक व्यवस्थ हामीले स्थापना गर्न सफल भएका छौं । समानुपातिक समाबेशी सिद्धान्तलाई हामीले नेपालको संविधानमा लिपिबद्ध गरेका छौं ।’
आदिवासी जनजाति समूदाय पूर्णअधिकारको लागि निरन्तर संघर्ष गर्न जरुरी रहेको प्रति दाहालले ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘समानुपातिक समाबेशी सिद्धान्त लागू भएपछि केहि सीमित अधिकारहरु हामीले प्राप्त गरेका छौं । अझै हामीले पूर्णअधिकारको लागि निरन्तर संघर्ष र लडाई गर्नुपर्ने छ । त्यसमा पनि राज्यबाट बर्षौदेखि चेपिएका थिचिएका अन्याय र अत्याचारमा परेका आदिवासी जनजातिहरुले झनै थप आन्दोलनलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।’
समानुपातिक समाबेशी सिद्धान्त राज्यको हरेक निकायमा लागू नभएको प्रति दाहालले ध्यानाकर्षण गराइन् । ‘ हामी जातीय अधिकारलाई स्थापना गर्न चाहन्छौं । जनसंख्याको आधारमा हाम्रो प्रतिनिधित्व होस् भन्ने चाहन्छौं । जसकारण राज्यबाट केही अधिकार हामीले प्राप्त गरेका छौं तर यो पूर्ण होइन । राज्यको हरेक निकायमा त्यो अनुसारका सहभागिता अझै पनि हुन सकिरहेको छैन’, उनले बताइन् । दाहालले समानुपातिक समाबेशी सिद्धान्तको कार्यान्वयनको चरणमा महागर रहेको बताइन् । साथै महानगरपालिकाबाट मगर समुदायलाई सकेको सहयोग गरिरहेको अवगत समेत उनले गराइन् । आगामी दिनमा पनि साथ सहयोग गर्ने प्रतिबद्धता दाहालले गरिन् ।

























