Breaking News

चितवनमा क्रिकेट खेलाउन तयार गरिएको खेलमैदान एक्कासी जोतिएपछि आजदेखि हुने प्रतियोगिता रोकियो

०
Banner

प्रतिमा कुमाल

चितवन, फागुन ११–

खैरहनी नगरपालिकाको समन्वयको कमीले आजदेखि हुने प्रथम क्रिकेट एकेडेमी लिग क्रिकेट प्रतियोगिता रोकिएको छ ।

खेलको लागि वडा नं. ५ स्थित निर्माणाधिन खैरहनी रंगशाला उपलब्ध गराउने अनुमति दिएको पालिकाले ठेकेदार कम्पनीसँग समन्वय नगरिदिँदा प्रतियोगिता रोकिएको हो ।

प्रतियोगिताको लागि तयार पार्दै गरिएको मैदान अर्को दिन जादा जोतिएको अवस्थामा भेटिएको इष्ट्रन क्रिकेट एकेडेमी (इसीए) रत्ननगर नगरपालिका –३ टाँडीका प्रवन्ध निर्देशक आकाश थापाले बताए । उनले भने, ‘नगरपालिकाले क्रिकेट टुर्नामेन्टको अवधिभरका लागि खेल मैदान उपलब्ध गराउने अनुमति दिएको हो । खेलका लागि अनुकुल मैदान बनाउन नगरपालिकाले ३ घण्टाको लागि डोजर समेत उपलब्ध गरायो । यसमा हामी खुसी थियौं तर खेल सुरु हुने २–३ दिन अगाडि तयार पारिँदै गरेको मैदान जोतिएको अवस्थामा थियो । ’

कुनै खबर नै नगरी तयार पारिएको मैदान जोतिँदा प्रतियोगिता अन्योलमा परेको थापाले बताए । ‘थापाले मैदान तयार गरिरहँदा १५ हजार भन्दा धेरै खर्च लागेको जीकिर गरे । उनले भने, क्रिकेट खेल्नको लागि मैदान सम्याउँदा २ टिप माटो खसाले । एक टिप माटोको ७ हजार पर्छ । सँगै कामदार पनि थिए । १५ हजार बढी खर्च भयो’, उनले सुनाए । अब प्रतियोगिता टिकौली जंगलमा रहेको खेल मैदानमा गराउने कि भन्नेमा छलफल भइरहेको उनले जानकारी दिए । फेरि सोही ठाउँमा खेल सञ्चालन गर्न ६० हजार खर्च लाग्ने भएपछि मैदाननै परिवर्तन गर्न लागिएको थापाको भनाइ थियो ।
खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनियाँले पालिकाले कुनै अनुमति नदिएको दाबी गरेका छन् । उनले भने, ‘जो पनि आएर खेल्छन् यहाँ । उनीहरुले हामीसँग अनुमति लिएका छैनन् । कति रुपैयाँमा अथोरिटी लिनुभयो देखाउनुस् ?’

पालिकाले खेल मैदान उपलब्ध गराउने अनुमति भने फागुन ३ गते आयोजकलाई दिएको देखिन्छ । जसमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माको हस्ताक्षर रहेको छ । खेल खेल्न अनुमति दिएर ठेकेदारसँग किन समन्वय गरिएन भन्ने प्रश्नमा शर्माले विवादमा तान्न खोजिएको भन्दै फोन राखे ।

प्रतियोगिता फागुन ११ गतेदेखि २२ गतेसम्म चल्ने फागुन ६ गते भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको थियो ।
खेलमा ६ टिमबीच प्रतिस्प्रर्धात्मक प्रतियोगिता हुने बताइएको थियो । भरतपुरमा भएको पत्रकार सम्मेलनमा बितरित विज्ञप्ति अनुसार प्रतियोगितामा बिएम ब्लास्टर, टाँडी टाइटन्स,सौराहा स्याण्डर, नेप्लिज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी ६ टोलीको सहभागिता रहेको थियो ।

लिग जित्ने टोलीलाई नगद ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्रले सम्मान गरिने जनाइएको थियो । प्रतियोगितामा प्लेयर अफ द सिरिज विजेतालाई नगद १० हजार रुपैयाँ पुरस्कार राशीको व्यवस्था गरिएको थियो । यस्तै बेष्ट बलर र बेष्ट ब्याट्सम्यानका लागि जनही पाँच हजार रुपैयाँले सम्मान गरिने विज्ञप्तिमा उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>